arin enterprises

चाबहिलमा दिउँसै लुटपाट गर्ने पक्राउ

SamacharDesk – बिकाश | २०७७ पौष १७, शुक्रबार

चाबहिलमा दिउँसै पैसा लुटपाट गर्ने गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

गत बुधबार काठमाडौ मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकबाट चाबहिलमा दिउँसै केही व्यक्तिहरुले नगद, सहकारीका कागजात र चेकबुकसमेत लुटेर फरार भएका थिए ।

संस्थाका बजार संकलक कपन बस्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी उनीसँग भएको १ लाख ६६ हजार ९ सय १५ रुपैयाँ नगदको साथमा सहकारीका कागजात र चेकबुक लुटिएको थियो ।

सोही लुटको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौंको कमलाक्षीका भुरुङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन नेपाली शाही, नरदेबीका थानकोट बस्ने २२ वर्षीय अभय तुलाधरलाई प्रहरीले पक्राउ गरेको हो ।

साथमा नरदेबीका चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेबीकै १८ वर्षीय किशोर र जुम्ला सिंजाका हाल बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा पनि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरील टोलीले खोजीको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट लुटपाट गरी लगेकोमध्ये २६ हजार ३ सय २५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकलसमेत बरामद गरेको छ ।

अनुसन्धानको क्रममा उनीहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल र स्कुटर समेत चोरी गर्ने गरेको र त्यस्ता चोरीका मोटरसाइकल तथा स्कुटर प्रयोग गरी बिभिन्न सामानहरु चोरी गर्ने गरेको बुझिन आएको महाशाखाले जनाएको छ ।

आवश्यक कारवाहीका लागि उनीहरू मध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाईएको महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोला : चाबहिलबाट दिउँसै २ लाख रुपैयाँ लुटियो

 

Categorized in अपराध