११ जना चित्रकारको चित्रकला प्रदर्शनी हुँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ९, सोमबार

हाल काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आर्टिस्ट ११ चित्रकला प्रर्दशनी भइरहेको छ ।
गत चैत्र ७ गतेबाट शुरु भएको प्रदर्शनीमा ११ जनाको चित्रकारहरुले बनाएको विभिन्न चित्रहरु राखिएका छन् ।
११ जना कलाकारमध्ये न्हूजः रोय पनि छन् । १६ वर्षीय रोय प्रदर्शनीमा सहभागी कलाकारमध्ये सबैभन्दा कान्छो हुन् । कलाकार न्हूजःले ‘ भुल्ने छैनौं, हाम्रा यी स्रष्टाहरुलाई’ शिर्षकमा बनाएका चित्रहरु प्रदर्शनीमा राखेका छन् ।
न्हूजःले गोपाल योञ्जन, दिपक बज्राचार्य, नारायण गोपाल लगायत नेपाली गायकहरुको पेन्सिल स्केच बनाएर प्रदर्शनीमा राखेका छन् ।
कलाकारहरुलाई समर्पित गर्दै चित्रहरु बनाउँदा आफुलाई आनन्दको अनभूति भएको न्हूजःले बताए । “मैले ११ बर्षको उमेरदेखि पेन्सिल स्केच सुरु गरेको हो । अहिले यो कला नेपालका स्रष्टाहरुलाई समर्पण गर्दैछु” न्हूजःले भने ।
ठुला कलाकारहरुसँग प्रदर्शनीमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै भविष्यमा आफ्नो एकल चित्रकला प्रदर्शनी गर्ने चाहना रहेको न्हूजःले बताए ।
हाल ललितपुर बालकुमारीस्थित केएमसी कलेजमा ११ कक्षामा विज्ञान बिषय लिएर अध्ययनरत न्हूजःको भविष्यमा गएर कला क्षेत्रलाई नै आधार बनाएर आर्किटेक्ट बन्ने लक्ष्य रहेको छ ।
विद्यालयमा शिक्षक सन्तोष राई र सुन्दर लामासँग पनि चित्रकला सिकेका न्हूजःले एरिना ताम्रकारबाट आफ्नो शीपलाई निखारेको बताए । प्रदर्शनी आउँदो चैत्र १४ गतेसम्म हुनेछ ।
Categorized in पेजथ्री