चाकुपाटमा संयुक्त इन्द्रजात्रा मनाउँदै
SamacharDesk – बिराज | २०७८ चैत्र २०, आइतबार

चाकुपाटमा ईन्द्रजात्रा शुरु भएको छ । अचम्म लाग्यो तपाईँलाई ? ‘ईन्द्रजात्रा आउन त अझै ५ महिना बाँकि छ । चाकुपाटमा अहिले के को ईन्द्रजात्रा नि ?’ यस्तै सोच्नु भयो होला तपाईँले हैन ?
तर हो, चाकुपाटमा ईन्द्रजात्रा मनाईँदैछ र यो ईन्द्रजात्रा एक हप्तासम्म चल्नेछ ।
लाखे पनि छ, पुलुकिसि, हाथुद्यः –श्वेत भैरव), यमाःद्यः, कुमारी, दागिं, सवःभक्कु सबै छ । ईन्द्रजात्रामा निकालिने सबै देवीदेवता, झाँकि चाकुपाटमा निकालिएको छ तर डिजिटल आर्टको स्वरूपमा ।
चाकुपाटको क्लासिक ग्यालरीमा कलाकार संयुक्त श्रेष्ठको ‘मजिपाः लाखय्’ विषयमा आधारित डिजिटल आर्ट प्रदर्शनी शुरु भएको छ ।
शनिबार शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीले प्रदर्शनीको उदघाटन गर्नुभयो । प्रदर्शनी उद्घाटन पछि शताब्दी पुरुष डा. जोशीले कलाकार श्रेष्ठको डिजिटल आर्टवर्कको अवलोकन पनि गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो विचार राख्दै जोशीले कलाकारको श्रेष्ठको कलाकारिताको प्रशंसा गर्दै चित्रकलाको माध्यमबाट श्रेष्ठले मजिपाः लाखय् र बांलाः मयजुको प्रेम कथा निकै रमाईलो ढङ्गले प्रस्तुत गरेको बताउनुभयो ।
‘चित्रकलामा चित्र मात्र होइन, स्टोरी टेलिङ चाहिन्छ । कलाकार संयुक्तले आफ्नो चित्रकलामार्फत मजिपाः लाखय् कथाको प्राचीनता प्रस्तुत गर्नुका साथै लाखय् र बांलाः मयजुको प्रेमकथामा प्राण प्रतिष्ठा गर्न सफल भएका छन्’ जोशीको भनाई हो ।
लाखय् र बांलाः मयजुको प्रेमकथाले बेदान्त दर्शनको ‘तत्वमसी’ भन्ने उँचनीच वा ठुलो सानो केही नभएको, शुन्यताको विन्दुको उच्चतम शिक्षा लाखय् र बांलाः मयजुको कथाले दिने जोशीको भनाई हो ।
‘तत् त्वम असि, अर्थात, तिमी नै म हो, म नै तिमी हौ । यहाँ केही भेदभाव वा फरक छैन । एक राक्षस लाखय् र सुन्दरी कन्याबीचको प्रेमकथाले यहि शिक्षा दिन्छ’ जोशीले बताए ।
कलाकार श्रेष्ठले आफुले सक्दो मिहिनेत गरेको र चित्रमा जीवन्तता दिन खोजेको बताए ।
लण्डनमा बस्दै गरेका कलाकार श्रेष्ठको यस प्रदर्शनी एक हप्तासम्म चल्नेछ । श्रेष्ठले आफ्नो यहि प्रदर्शनीका लागी नेपाल आएका छन् । कलाकार श्रेष्ठ भेटघाटका लागि यस प्रदर्शन अवधि भर अपरान्ह ४ बजेदेखि ६ बजेसम्म ग्यालरीमै उपलब्ध हुनेछन् ।
Categorized in पेजथ्री