arin enterprises

महर्षि योगासन अभ्यासमा कलाकारहरुको सहभागिता

SamacharDesk – बिजयरत्न | २०८१ आषाढ २७, बुधबार

दक्षिणकालीमा आयोजना भएको वैदिक गतिविधि ध्यान एवं महर्षि योगासनको अभ्यास कार्यक्रममा चलचित्र कलाकारहरुले सक्रिय सहभागीता जनाएका छन् ।

मंगलवार बिहानदेखि दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा आयोजना भएको कार्यक्रममा करिब ७० जना चलचित्रकर्मीहरुको सहभागिता रहेको छ ।

सोही अवसरमा फाउण्डेसनको दैनिक रुद्राभिषेक कार्यक्रममा समेत कलाकारहरुको सहभागिता रहेको थियो ।

नेपाल चलचित्र कलाकार संघ तथा नेपाल महर्षि वैदिक फाउण्डेसनको संयुक्त आयोजनामा कार्यक्रममा भावातित ध्यानकासाथै विभिन्न योगाशनका विषयमा चर्चा गरिएको थियो ।

धर्मगुरु महर्षि महेश योगीको नाममा स्थापित नेपाल महर्षि वैदिक फाउण्डेशनले नेपालमा सनातनी धर्मको रक्षाको साथै विभिन्न वैदिक सनातनी कार्यहरुमा क्रियाशिल गर्दै आईरहेको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले बताए ।

नेपाल चलचित्र कलाकार संघसंग यस्ता कार्यहरुमा सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको अध्यक्ष बासकोटाले बताए ।

योगासन अभ्यास कार्यक्रमका प्रशिक्षक मिन राज अधिकारीले योग र ध्यानबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रमकाे सहजकर्ताहरुमा कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र.खडका, संघका सचिव रामेश्वर बुर्लाकोटी र संघका  सहायता तथा अनुगमन समिति संयोजक उद्दव प्रसाद भट्टराई तथा फाउण्डेशनका भरत राज पौडेल रहेका थिए ।

कार्यक्रममा  अभिनेत्री गौरी मल्लले पनि ध्यान भावनाको उपादेयताबारे मन्तव्य राखेकि थिइन् । संघका अध्यक्ष मोहन निरौलाले मानव जीवनमा ध्यान र योगको महत्वबारे प्रकाश पार्दै कलाकारको लागि झन उपयोगी हुने विचार राखे ।

कार्यक्रममा चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, वरिष्ठ अभिनेता लय संग्रौला, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधानलगायतको विशेष उपस्थिति रहेको थियो ।

Categorized in पेजथ्री