arin enterprises

अरुण तेस्रोको ब्रेक–थ्रु

SamacharDesk | २०८१ जेठ २२, मंगलबार

संखुवासभामास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग आज ब्रेक–थ्रु भएको छ ।

मकालु गाउँपालिका–५ आम्राङमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेर सुरुङ मार्गको छिचोल्ने काम गर्नुभएको हो ।

फ्याक्सिन्दामा रहेको ड्यामसाइडदेखि विद्युतगृह रहेको दिदिङसम्म पानी पथान्तरका लागि ९ दशमलव ५ मिटर गोलाईको १२ किलोमिटरको सुरुङ छिचोलिएको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताउनुभयो ।

सुक्खायामको माग पूर्ति गर्न बुढीगण्डकी, दुधकोशी र नलसिङ्गाड जलाशययुक्त जलविद्युत आयोजना तथा नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने तयारी गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा घुन्सा र सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने जानकारी दिनुभयो ।

सो आयोजनाको काम भारतको सरकारी कम्पनी सतलजले निर्माण गरिरहेको छ । आयोजनाको अहिलेसम्म ७० प्रतिशत काम सकिएको बताइएको छ । अबको एक वर्षभित्र आयोजना सम्पन्न हुने आयोजनाका अधिकारीहरुले बताएका छन् ।

यो आयोजना सम्पन्न भएपछि नेपालले २१ प्रतिशत विजुली निशुल्क पाउने छ भने बाँकी विजुली सतलज कम्पनीले भारत लैजाने छ । आयोजनाको कुल लगानी एक खर्ब चार अर्ब रुपैयाँ रहेको छ ।

आयोजनाबाट स्थानीयहरुले प्रति परिवार मासिक ३० युनिट विजुली निशुल्क पाउने छन् भने उनीहरुलाई स्थानीय शेयर पनि दिने सहमति छ ।

Categorized in राष्ट्रिय