arin enterprises

ताम्राकारको ‘अतीतको झझल्को’ सार्वजनिक

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ पौष १४, सोमबार

मदनराज ताम्राकारद्वारा लिखित ‘अतीतको झझल्को’ सार्वजनिक भएको छ ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा ताम्राकारको उक्त पुस्तक साहित्यकार प्रा.डा. तुलसीप्रसाद भट्टराईले सार्वजनिक गरे ।

नेपाल बैङ्क हुँदै एभरेष्ट बैङ्कका जागिरे जीवन व्यतीत गरेका मदनराजले आफ्नो जागिरे जीवनमा पाएको अवसर, विभिन्न खालको देशविदेश भ्रमण र बसाईको सन्दर्भका घटना र संस्मरणको समीकरणका रूपमा १४ वटा निबन्धहरू पुस्तकभित्र समेटिएको छ ।

कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार प्रा.डा. भट्टराईले लेखक ताम्राकारको अवकाश पछिको जीवनलाई सार्थक बनाउने श्रृजनात्मक प्रयाश यो पुस्तक भएको विचार राखे ।

‘जीवन भनेको संघर्षको श्रृङ्खला हो, यो पुस्तक परिवारका लागि मात्रै नभै, ताम्राकार समाज र सिङ्गै नेपाली समाजकै निधि हुने खालको छ’ प्रा.डा. भट्टराईको भनाई हो ।

वाल्मीकि क्याम्पसका उपप्राध्यापक एवम् समालोचक तेजविलास अधिकारीले यो आत्मकथाको ग्रन्थले इतिहास र साहित्यको माध्यमबाट समाजलाई प्रेरणा दिने बताए । नेपाल पुजा प्रतिष्ठानका कोषाध्यक्ष विजयकुमार गौतमले समाज, जीवन र यथार्थतालाई पुस्तकमा प्रस्तुत विचार राखे ।

लेखकका सुपुत्र एवम् पुस्तकका प्रकाशक किर्तनराज ताम्राकारले पुस्तक साहित्यिक कृति मात्रै नभई आफ्नो पिताको जीवनको संघर्ष, अनुभव र प्रेरणालाई पनि प्रतिविम्बित गरेको बताए ।

प्राध्यापक डाक्टर कुमार कोइरालाले पुस्तकमा १४ वटा शीर्षकहरुमा जीवनका अतितका बिषयबस्तुहरुसंग सम्बन्धित कथाहरु प्रस्तुत गरिएको भन्दै पछिल्लो समय नेपालमा प्रकाशन भएका व्यक्तित्व जीवनीका पुस्तकहरुबाट प्रेरणादायी कुरा र समाजका लागि आदर्श प्राप्त हुने दावी गरे ।

ताम्राकार समाजका निवर्तमान अध्यक्ष रबिन्द्रराज ताम्राकारले पुस्तक लेख्नु ज्यादै चुनौतीपूर्ण काम भएको विचार राख्दै ताम्राकार समाजको व्यक्तित्वले ज्यादै महत्त्वपूर्ण र गहकिलो पुस्तक तयार भएको बताए ।

पुस्तकमा ’उषाकाल’, ‘बादल पछाडिको तारा’, ‘जिन्दगीका तरङ्गहरू’, ‘बालबाल बचें’, ‘सिमरा एक सम्झना’ लगायतका जीवन संस्मरणका निवन्ध समावेश छन् ।

पुस्तकमा समाविष्ट अन्य निवन्धमा ‘अविस्मरणीय जङ्गल यात्रा’, ‘भूलभुलैया’ ‘चट्ट विश्वास, पछुतोको आधार’, ‘अनौठो सहयोग’ लगायत पनि रहेका छन् ।

Categorized in पेजथ्री