arin enterprises

एकै ओलम्पिकमा ३ स्वर्ण बिजेता बबीको निधन

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १९, सोमबार

मेलवर्न ओलम्पिकमा ३ स्वर्ण बिजेता अमेरिकी छोटो दूरीका धावक बबी जो मोरोको निधन भएको छ ।

सान बोनिटो स्कुल डिस्ट्रिकले शनिबार ८४ वर्षको उमेरमा उनको निधन भएको पुष्टि गरेको छ ।

मोरोको मृत्युको खबर सुनेर विश्व एथलेटिक्स जगत गहिरो शोकमा रहेको विश्व एथलेटिक्स महासंघले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

मोरोले १९५६ को मेलवर्न ओलम्पिकमा ३ वटा स्वर्ण जितेको थियो ।

१९५६ मा मोरोले १ सय मिटर, २ सय मिटरमा आफ्नो २ वटा व्यक्तिगत स्वर्ण जितेका थिए । 

त्यही ओलम्पिकमा उनीसहितको अमेरिकी टोलीले ४ गुणा १ सय मिटर रिलेमा स्वर्ण जितेको थियो ।

विश्वमा अहिलेसम्म चार खेलाडीले मात्रै यसरी एकै संस्करणको ओलम्पिक खेलमा १ सय मिटर, २ सय मिटर र चार गुणा १ सय मिटर रिलेमा स्वर्ण जितेर किर्तिमान बनाएका छन् ।

सन् १९३६ को बर्लिन ओलम्पिकमा जेसे ओवेन्स, सन् १९५६ को मेलवर्न ओलम्पिकमा बबी जो मोरो, सन् १९८४ को लस एन्जलस ओलम्पिकमा कार्ल लेविस र सन् २०१२ को लण्डन ओलम्पिक तथा सन् २०१६ को रियो दि जेनरियो ओलम्पिकमा उसेन बोल्टले मात्रै यस्तो उपलब्धि हासिल गरेका छन् ।

स्पोर्टस् इलुस्ट्रेटेडले मोरोलाई १९५६ मा वर्षकै उत्कृष्ट खेलाडी घोषित गरेको थियो । 

त्यस्तै सन् १९६० को रोम ओलम्पिकमा अमेरिकी टोलीमा स्थान बनाउन नसकेपछि उनले एथलेटिक्स खेलबाटै सन्यास लिएका थिए ।

सान बोनिटो स्कुल डिस्ट्रिकले विज्ञप्ति जारी गर्दै सान बेनिटोले ओलम्पिकबाट धेरै स्वर्ण जिताउने आफ्ना गृहनगरका स्टारलाई सधैं सम्झी रहने उल्लेख गरेको छ । 

यस स्कुलका सुपेरिटेन्डेन्ट डाक्टर नाते काम्र्यानले विश्वप्रसिद्ध धावक मोरोको संझना दिलाउने गरी उनको नामबाट १२ हजार सिटसहितको रंगशालाको नामाकरण गरिएको बताए ।

Categorized in स्पाेर्ट्स