एट्लेटिको मड्रिड र सेल्टा भिगोले खेले बराबरी
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २७, मंगलबार

स्पेनिश ला लिगा अन्तर्गत गए राति सम्पन्न खेलमा शिर्ष स्थानको एट्लेटिको मड्रिड र १० औं स्थानको सेल्टा भिगोको खेल बराबरीमा सकिएको छ ।
एट्लेटिको मड्रिडको मैदान वान्डा मेट्रोपोलिलिटानो स्टेडियममा भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका हुन् ।
खेलमा एट्लेटिकोका स्ट्राइकर लुइस सुआरेजले दुई गोल गरे भने सेल्टा भिगोका लागि सान्टी मिना र फाकुन्डो फेरीराले एक/एक गोल गरे ।
खेलको १३ औं मिनेटमा स्ट्राइकर सान्टी मिनाले गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाए । ४५ औं मिनेटमा सुआरेजले खेललाई बराबरीमा ल्याए ।
दोश्रो हाफ शुरु भएको पाँच मिनेटमै सुआरेजले एट्लेटिको मड्रिडका लागि गोल गर्दै टिमलाई अगाडी बढाए । तर खेलको करीब अन्तिम समयतिर ८९ औं मिनेटमा फाकुन्डोले गोल गर्दै टिमलाई हारबाट बचाए ।
यस खेलपछि शिर्ष स्थानको एट्लेटिको मड्रिडको २० खेलबाट ५१ अङ्क छ ।
एट्लेटिको दोश्रो स्थानको बार्सिलोनाभन्दा ८ अङ्कले अगाडी छ । बार्सिलोनाको २१ खेलबाट ४३ अङ्क छ ।
तेश्रो स्थानको रियल मड्रिडको पनि समान २१ खेलबाट ४३ अङ्क नै रहेको छ ।
Categorized in स्पाेर्ट्स