arin enterprises

धातुहस्तमूर्ति कलाकार अवालेको आत्मवृत्तान्त लोकार्पण

SamacharDesk – विजयरत्न | २०८२ पौष १७, बिहिबार

वरिष्ठ धातुहस्तमूर्ति कलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण भएको छ ।

ललितपुरमा सम्पन्न एक कार्यक्रममा अवालेको आत्मवृतान्त ‘अक्षरमा सात दशक, कुम्हालेको चक्रः माटो र जीवन’को लोकार्पण नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गरे ।

पुस्तक लोकार्पण समारोहमा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति हार्तम्छालीले कलाकार अवाले सिङ्गो समाजलाई सृजनात्मक बनाउन लागिपरेको कुराले आफु निकै प्रभावित भएको र यस्ता व्यक्ति सम्मानका हकदार समेत हुने बताए ।

पुस्तकका प्रकाशक कयो अवालेले यो पुस्तक पढिसकेपछि विशेषतः युवावर्गमा धैर्यताले काम गर्नुपर्छ भन्ने उर्जा थपिने विश्वास व्यक्त गरे । साहित्यकार शैलेन्द्र अधिकारीले पुस्तकलाई लिएर आफ्ना समीक्षात्मक विचार राखे ।

कुनै पनि रुचिको काममा निरन्तर लागेको खण्डमा सफलता प्राप्त हुने मूलसन्देश प्रवाह गर्न सके पुस्तक प्रकाशन गर्नुको उद्देश्य पूरा हुने बताए ।

कार्यक्रममा वरिष्ठ धातुमूर्ति कलाकार सन्तकुमार शाक्य, रुद्रवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष काजीरत्न शाक्य, महाबुद्ध मन्दिर संरक्षण समितिका अध्यक्ष महेन्द्रानन्द शाक्य, वरिष्ठ कलाकार तथा प्राज्ञ धर्मराज शाक्य लगायतको उपस्थिति थियो ।

साथमा वरिष्ठ पौभा कलाकार लोक चित्रकार, वरिष्ठ प्रस्तरमूर्ति कलाकार चन्द्र श्याम डंगोल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख प्राज्ञ दिनेश्वर महतो, ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्य लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती थियो ।

पुस्तकका सामग्रीलाई ४२ अध्यायमा विभाजित गर्दै अवालेको बाल्यकाल, युवावस्था, मूर्तिकला क्षेत्रमा स्थापित हुनका लागि गरिएका अनेक आरोह अवरोहका संघर्षशील घटना परिघटनाको वर्णन गरिएको छ ।

साथमा अवालेका सामाजिक सम्लग्नताको अलावा थुप्रै राम्रा नराम्रा, सुख दुःख, सफलता असफलता र संयोग वियोगका चरणहरु वर्णन भएको छ ।

कलाकार अवालेको मुखबाट निस्केका शब्द नानीहेरा शाक्यले सुनेर त्यसैलाई लिपिवद्ध गर्दै पुस्तक तयार गरिएको हो ।

Categorized in पेजथ्री