निफका विजेतालाई पुरस्कार प्रदान
SamacharDesk – बिजयरत्न | २०७८ श्रावण १८, सोमबार

चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) का विजेताहरुलाई पुरस्कार प्रदान वितरण गरिएको छ ।
गत बैशाख २३ देखि २७ गतेसम्म नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भर्चुअलको माध्यमबाट सम्पन्न सो चलचित्र महोत्सवका विजेतालाई पुरस्कार वितरण गरिएको हो ।
कोरोना महामारीका कारण अनलाइन माध्यमबाट सम्पन्न उक्त महोत्सवका पुरस्कार विजेताको घोषणा भए पनि पुरस्कार बितरण भने बाँकी रहेको थियो । सोही पुरस्कार आइतबार राजधानीमा एक कार्यक्रमका बीच विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत पाँच अन्तर्राष्ट्रिय अवार्डमध्ये एक पुरस्कार प्रदान गरिएको र बाँकी कुरियर मार्फत् पठाइने आयोजक संस्थाका अध्यक्ष के पि पाठकले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पाठकको साथमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र निर्णायकहरुमध्येका वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले विजेतालाई अवार्डको ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
ककसले कुन कुन अवार्ड जिते
कार्यक्रममा सात विधामा राष्ट्रिय अवार्ड समेत वितरण गरिएको थियो । ‘निफ’मा फिल्म ‘आमा खान्डो’ ले एकलाख नगद राशीको स्वदेशी फिचर फिल्मतर्फ पुरस्कार पाएको थियो । यसै फिल्मबाट डान्डुप छिरिङले उत्कृष्ट निर्देशकको अवार्ड पनि पाएका छन् ।
त्यस्तै, उत्कृष्ट नायक–नायिकाको अवार्ड फिल्म ‘लाटोकोसेरो’ बाट नविन शिल्पकार र सरिता गिरीले जितेका थिए भने उत्कृष्ट छायाँकारको अवार्ड पनि यसै फिल्मले पाएको थियो ।
फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोले पाए भने प्यानडेमिक डकुमेन्ट्रीतर्फ ‘सिभिल सोल्जर्स’ ले ५० हजार राशीको अवार्ड फिल्मका निर्देशक गणेश पाण्डेले हासिल गरे ।
५० हजार राशीकै राष्ट्रिय शर्ट फिल्मको अवार्ड भने राजेशप्रसाद खत्री निर्देशित ‘अ स्केयरक्रो’ ले पाएको थियो ।
पाँचाैं संस्करणकाे महाेत्सवकाे लागि आवेदन खुला
कार्यक्रममा पाँचौं संस्करणको निफको आवेदन समेत खुल्ला भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले घोषणा गरेका छन् ।
आउँदो चैत १० गतेदेखि १४ गतेसम्म हुने पाँचौं संस्करणको महोत्सवमा नेपाली प्रतिस्पर्धामा ५० हजार राशीको वृत्तचित्रसमेत थप गरिएको बताइएको छ ।
Categorized in पेजथ्री