बाहुबलिका निर्देशकले नेपाली चलचित्रलाई सघाउने
SamacharDesk – विजयरत्न | २०७८ माघ १२, बुधबार

चर्चित दक्षिण भारतीय फिल्म बाहुबलिका निर्देशक एसएस राजामौलीले नेपाली फिल्म निर्माणमा सहयोग गर्ने भएका छन् ।
सास इन्टरटेमेन्ट सिनेमाको ब्यानरमा सास अधिकारिले निर्माण गर्ने फिल्म ‘सिन्धुलीगढी’ को निर्माणमा दक्षिण भारतीय फिल्म निर्देशक राजामौलीले सहयोग गर्न लागेका हुन् ।
भारतकै सर्वाधिक लागतमा बनेका मगधिरा, बाहुबलि लगायतका फिल्म बनाएका निर्देशक राजामौलिको हाल अर्को चलचित्र ‘आर आर आर’ प्रदर्शन को तयारीमा छ । यसै समयमा नेपाली चलचित्र ‘सिन्धुलीगढी’ को निर्माणमा उनले सहयोग गर्ने भएका हुन् ।
लामो समयदेखिको खोज, अध्ययन तथा अनुसन्धान पश्चात निर्माण हुन लागेको ‘सिन्धुलीगढी’ ले नेपाल चलचित्र विकास बोर्डबाट विधिवत रुपमा छायाङ्कन अनुमति प्रमाणपत्र प्राप्त गरेको छ ।
चलचित्रको लेखन तथा निर्देशन विश्वमणि घिमिरेको हुनेछ भने मुख्य कलाकारहरुको छनोट अडिसनबाट भैरहेको बताइएको छ । छायाङ्कन भने सिन्धुलीको साथमा काभ्रे र काठमाडौंमा पनि गरिनेछ ।
फिल्मको सम्पूर्ण पोष्ट प्रोडक्सन मुम्बईमा गरिनेछ । फिल्मलाई हिन्दी र अंग्रेजी भाषामा समेत डब गरिने भएको छ ।
यस चलचित्रलाई अहिलेसम्मकै सबैभन्दा बढी लागतमा निर्माण हुने नेपाली चलचित्र दावी गरिएको छ ।
Categorized in पेजथ्री