बाला चतुर्दशी पर्व मनाईँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर ३, बुधबार
आज मंसीर कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी, पितृहरुको नाममा शतवीज छर्दै र दीपदान गर्दै मनाईँदैछ ।
आजको तिथिमा पितृका नाममा दीप दान गर्ने गरिन्छ । हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शतबीज छर्ने चलन रहेको छ ।
कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूको सद्गतिको कामना गर्दै शतबीज छर्ने गरिन्छ । साथमा आज छरिएको शतबीजबाटै दिवंगत पितृहरुले वर्षभरी खान पाउने मान्यता पनि गरहेको छ ।
मंसीर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीमा रहेको छ ।
शतबीज भन्नाले यसमा विभिन्न सात वटा अन्नका बीज अर्थात बीउ रहेको हुन्छ । शतबीज भन्नाले धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ हुन्छ । कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ ।
बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक शिवालय नजिकका जङ्गलहरूमा गई शतबीज छर्ने गरिन्छ ।
काठमाडौँमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरीघाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाटलगायतका स्थानहरूमा शत बीज छर्ने दर्शनार्थीहरुको ठुलै भीड लाग्ने गर्दछ ।
दीपदान गर्न र शतबीज छर्न काठमाडौँको पशुपतिनाथ मन्दिरसँगै अन्य शिवालयहरुमा पनि अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ । बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
शत बीज छर्ने किंवदन्ती
शत बीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती रहेको छ ।
बाला एक असुर अर्थात राक्षसको नाम हो । बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरूले राजालाई यसबारे गुनासो गर्न पुग्छन्
। जनताको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् ।
तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या ।
ब्रिसले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शत बीज छर्न आदेश दिन्छन् ।
यही दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मान्यता रहेको छ ।
Categorized in संस्कृति




