पशुपतिमा शतबीज छर्न सम्पूर्ण तयारी पूरा
SamacharDesk | २०८० मङ्सिर २३, शनिबार

आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका अनुसार बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताउनुभयो ।
कोषले शुक्रबार सूचना जारी गरी भक्तजनहरुले बाला चतुर्दशीमा शतबीज छर्न आउनेहरुले १३ बुँदे नियम पालना गर्नुपर्ने जनाएको छ । जारी सुचनामा कोषका वृक्षरोपण गरेको स्थान र बिरुवाको संरक्षण गर्न, ढुंगा छापेको स्थानमा शतबीज नछर्न, स–साना बालबालिकाहरुको साथमा परिचयपत्र राखिदिन कोषले आग्रह गरेको छ ।
आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्नेछ ।
कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चउरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सुचना जारी गरी बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, मदिरा र अन्य नशालु लागूपदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।
कोषले बालाचतुर्दशी पर्वका लागि पशुपतिनाथमा आउने भक्तजनका लागि नेपाली सेना र पशुपति क्षेत्र विकास कोषले निःशुल्करूपमा (१३ हजार स्क्वाएर फिट) टेन्ट तथा पार्किङको व्यवस्था मिलाएको कोषका सदस्यसचिव खत्रीले बताउनुभयो ।
पशुपतिनाथमा मङ्सिर २४ र २५ गते लाग्ने बालाचतुर्दशी पर्वलाई सभ्य र भव्यताका साथ सफल पार्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण जनशक्ति खटिएको पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक डा. खतिवडाले बताउनुभयो ।
Categorized in राष्ट्रिय