शिवालयहरुमा शतबीज छरियो
SamacharDesk | २०८१ मङ्सिर १५, शनिबार

आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशीका दिन भक्तजनहरूले पाशुपत क्षेत्रमा पितृहरूको सम्झनामा शतबीज छरेका छन् ।
पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपछि आज शत बीज छर्ने चलन रहेको छ ।
मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ ।
बोलीचालीको भाषामा शतबीज छर्ने भनिने शतबीज रोपणले पितृको उद्धार हुन्छ भन्ने प्रचलन छ । शत बीजमा मुख्यतया धान, गहुँ, मास, मुँगी, कागुनलगायतका ७ अन्नको प्रयोग गरिन्छ । शतबीज छर्नका लागि शिवालय नजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ ।
काठमाडौँमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, सुनसरीको चतरा, वराहक्षेत्र, संखुवासभा चैनपुरको सिद्धकाली मन्दिर, चितवन नवलपरासीको देवघाटलगायतका स्थानहरूमा शत बीज छर्नेहरुको विशेष भिड लाग्दछ ।
Categorized in संस्कृति