arin enterprises

मेयर शाहको सय दिन : सोचे अनुरुप फोहोर व्यवस्थापन गर्न नसकेको जिकिर

SamacharDesk | २०७९ भाद्र १९, आइतबार

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर पदको कार्यभार सम्हालेको आज सय दिन पुगेको छ ।

सो अवसरमा प्रमुख बालेन्द्र शाहले राजधानीको फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । आज मेयर शाहले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मेयर शाहले फोहोर व्यवस्थापनका सन्दर्भमा आफूहरुले जस्तो सोचे जस्तो काम हुन नसकेको स्वीकार्नुभएको हो ।

बरु आफू अझै केही समय महानगरवासीको गाली खान तयार भएको तर फोहोर दिगो समाधान गरेरै छाड्ने बताउनु भएको छ । झन्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन भने आफूहरु सफल भएको भन्दै उहाँले समस्याहरूको पहिचान गरेर तिनको द्विगो समाधानका योजनाहरू बनाउने अवस्था बनेको उल्लेख गर्नुभएको छ ।

आफूहरु सय दिनको दौडमा नरहेको भन्दै उहाँले आफैले सय दिनको मूल्यांकन गर्नुभन्दा आममानिसले परिवर्तनको महसुस गरेर सकारात्मक उर्जा पाए भने मात्रै कामले नतिजा दिएको ठान्ने उल्लेख गर्नुभएको छ ।

आफूहरु महानगरको कार्यक्षेत्र, कर्तव्य र अधिकारभित्रै रहेर काम गर्न सचेत रहेको भन्दै मेयर शाहले सय दिनमा लिइएका ६ वटा निर्णयले मनमा छोएको उल्लेख गर्नुभएको छ ।

काम गर्न पाँच वर्षका योजना रहेको भन्दै उहाँले अझै केही समय गाली र आलोचना मात्रै सुन्न र सहन तयार पनि बताउनु भएको छ ।

फुटपाथबाट मकैको ठेला हटाएको, ई–स्र्पोेटसका लागि एक करोड रुपैयाँ दिएको, यमबुद्धको सालिक बनाउने निर्णय, कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन, फोहोर व्यवस्थापनमा ढिलाइ र नर्भिक अस्पताललगायत स्थानका अनधिकृत संरचना हटाउने सन्दर्भ उल्लेख उहाँले उल्लेख गर्नुभएको छ ।

हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने प्रतिवद्धता ब्यक्त गर्दै मेयर शाहले काठमाडौंवासीको विश्वास र समर्थनलाई निराशामा परिणत हुन नदिने प्रतिवद्धता पनि जनाउनु भएको छ ।

Categorized in राष्ट्रिय