arin enterprises

मिचाहा वर्गलाई मोटाइरहन नदिने बालेनको उद्घोष

SamacharDesk | २०७९ भाद्र १२, आइतबार

महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिइरहनु भएका मेयर शाहले काठमाडौं महानगरपालिकाका मिचाहा वर्गलाई कानून मिचेर मोटाइ रहन नदिने बताउनु भएको छ ।

आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै कानून मिची रहन नदिने बताउनु भएको हो । अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन दिने छैन भन्दै उहाँले विज्ञप्तिमा आवश्यकता र औचित्यको आधारमा कार्यकारिणी शक्तिको प्रयोग गरेर विधिको शासन स्थापित गर्ने बताउनुभएको छ ।

सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प महानगरसँग खुला रहेको मेयर शाहको भनाइ छ ।

अनधिकृत निर्माण, अतिक्रमण तथा गलत प्रयोगलाई रोक्न अहिले महानगर रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा रहेको पनि उहाँले प्रष्ट पार्नुभएको छ ।

अनधिकृत संरचना हटाउन महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकारको प्रयोग गरेको भन्दै उहाँले अनधिकृत निर्माण कार्य वा आफैंले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको दायित्व भएको पनि बताउनुभएको छ ।

Categorized in राष्ट्रिय