"बलिदान"को थिम लुक सार्वजनिक
SamacharDesk | २०८० कार्तिक ४, शनिबार

आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट 'बलिदान'को शीर्षक सहितको 'थिम लुक' सार्वजनिक गरिएको छ ।
नेपाली चलचित्रको श्रेष्ठ सिरिज 'प्रेम गीत' सिरिजका प्रणेता तथा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक प्रदर्शनको ऐतिहासिक सुरुवात गरेका सन्तोष सेनले यो चलचित्र बनाउन लागेका हुन् ।
शनिवार बडा दसैँको फूलपातीको अवसर पारी घोषणा गरिएको 'बलिदान'को रिलिज मिति वि।सं। २०८१ सालको फूलपातीको दिन तय गरिएको छ ।
'बलिदान'को निर्देशन सन्तोष आफैले गर्दैछन् । आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको 'स्क्रिप्ट डक्टर'को रूपमा मनोज पण्डित रहेका छन् ।
'थिम लुक'मा सार्वजनिक सामग्रीअनुसार 'बलिदान'को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गका बिच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामलाई चित्रण हुनेछ । चलचित्रका निर्माता तथा निर्देशक सेनले यो चलचित्रलाई एक सार्वभौम महाकथा भनेका छन् ।
'नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा शान्तिपूर्ण आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशी विदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने बीभत्स परिवेशलाई चित्रण गर्ने हुनाले यसको कथा नेपालको मधेसको त हो नै, साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो' सेनले बताए ।
सेनका अनुसार यस चलचित्रमा सहज आन्दोलन या अधिकारको लडाइँ हुँदा देशी विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पारिन्छ भन्ने कुरालाई चित्रण गरिनेछ ।
अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युग पुरुष जन्माउँछ भन्ने सत्यलाई पनि चलचित्रको कथामा आत्मसात् गरिने उनले बताए ।
Categorized in पेजथ्री