बालकृष्ण खाँण ३० लाख धरौटीमा रिहा
SamacharDesk | २०८० मङ्सिर २९, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा भएका छन ।
उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएका थिए ।
अदालतले मागेको धरौटी बमोजिमको बैंक ग्यारेन्टी बुझाएर खाँण शुक्रबार रिहा भएका हुन । तर अदालतले रिहा गर्ने आदेश दिएपनि प्रहरीले अनुसन्धानका लागि सम्पणत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पनि सिफारिस गरेकाले उनी छुटेका थिएनन ।
शुक्रवार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शरणार्थी प्रकरणमा मुछिएका खाँण ७ महिना जेल बसेर शुक्रबार छुटेका हन् ।
गत मंसिर १५ गते पाटन उच्च अदालतकै न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि मुद्दा न्यायाधीश कृष्णराम कोइरालाको एकल ईजलाशमा गएको थियो ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको घट्नामा पूर्वमन्त्री खाँण पनि आरोपी थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो ।
Categorized in राष्ट्रिय