arin enterprises

सुनाकोठी लगियो बालकुमारीको मूर्ति

SamacharDesk – बिराज | २०७८ माघ २८, शुक्रबार

हराएर आज विहानै मात्र भेटिएको बालकुमारीको मूर्ति सुनाकोठी फिर्ता लगिएको छ ।

बाजागाजासहित भेला भएका सुनाकोठीवासी र धर्म, संस्कृतिप्रेमीहरुले बाजागाजासहित सिन्दुर जात्रा गर्दै बालकुमारीको मूर्तिलाई जावलाखेलबाट सुनाकोठी फिर्ता लगिएको थियो । प्रहरीले सुनाकोठी गुठीका प्रतिनिधिहरुलाई मूर्ति हस्तान्तरण गरेपछि जात्रा गर्दै मूर्ति फिर्ता लगिएको हो ।

बालकुमारीको मूर्ति सुनाकोठीमा फिर्ता लग्न ठुलै संख्यामा गुठीयारहरुको साथमा सुनाकोठीवासी र धर्म तथा संस्कृतिप्रेमीहरु भेला भएका थिए ।

खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला परेपछि प्रहरीले मूर्तिलाई जावलाखेल ल्याएको थियो ।

गत माघ ८ गते बालकुमारी मन्दिरबाटै हराएको मूर्ति आज विहान खुमलटारस्थित करुणा मन्दिरमा बोरामा राखेर छोडिएको अवस्थामा भेटिएको हो । ८ गते राति मन्दिरमा ९ वटा ताला फोडेर मन्दिर चोरी भएको थियो ।

पित्तलबाट बनेको २ फिट अग्लो र डेढ फिट चौडाइको मूर्तिसँगै देवीको गहनाहरु पनि थिए । सोही गहनाको लागि मूर्ति चोरी भएको र पक्राउ पर्ने डरले चोरले मूर्ति छोडेर हिँडेको अनुमान गरिएको छ ।

मूर्ति चोरी भएपछि गुठीले मूर्ति फेला पार्नेलाई ५ लाख रुपैयाँ पुरस्कारको समेत घोषणा गरेको थियो । उक्त मूर्ति ३ सय वर्ष पुरानो भएको दावी गरिएको छ ।

मूर्ति चोरी गर्ने व्यक्ति भने फरार रहेको र उसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोला  सुनोकाठीमा ३ सय वर्ष पुरानो बालकुमारीको मूर्ति चोरी 

Categorized in संस्कृति