बालकुमारीमा झडप, २ जना प्रदर्शनकारीको मृत्यु
SamacharDesk | २०८० पौष १३, शुक्रबार

ललितपुरको बालकुमारीमा प्रहरीको लाठीचार्जबाट दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९इपीएस० परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनपछिको भडपमा दुईजनाको मृत्यु भएको हो ।
कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत पानीजहाज निर्माणका लागि आवेदन दिएकाहरुले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने नियमको विरोध गर्दै प्रदर्शन गरेको थियो ।
विरोध प्रदर्शनमा प्रहरीसँगको झडपमा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो। रावतको किष्ट कलेज र शाहको पाटन अस्पतालमा मृत्यु भएको उहाँको भनाइ छ ।
दुवै जनाको मृत्यु लाठीचार्जको चोटबाट भएको अस्पतालले बताएको छ । उनीहरुको गोली लागेर नभई छातिमा नीलोडाम रहेकाले लाठीचार्जको चोटबाट उनको मृत्यु भएको हुनसक्ने चिकिस्तकहरुले बताएका छन् ।
यद्यपी पोस्टमार्टम रिपोर्टपछि मात्रै रावतको मृत्युको कारण खुल्ने अस्पतालले जनाएको छ । बेहोस अवस्थामा दिउँसो पौने १ बजेतिर अस्पताल ल्याई पुर्याइएका रावतलाई ४५ मिनेट जति सीपीआर दिंदा पनि ब्युँताउन नसकिएको अस्पतालले जनाएको छ ।
यस्तै डोटीका वीरेन्द्र शाहको पनि लाठीचार्जबाटै मृत्यु अस्पतालले जनाएको छ । शाहको मृत्यु पाटन अस्पताल भएको हो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडिमा आगजनी गरेपछि प्रहरीेले बल प्रयोग गरेको थियो ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए।
लगत्तै उनीहरुले गाडीमा आगजनीसमेत गरेका थिए। प्रदर्शनकारीले मन्त्रीको गाडी जलाईदिएपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि आवश्यकता भन्दा बढी बल प्रयोग गर्नुका साथै ग्वार्को क्षेत्रमा मनपरी धरपकड गरेको थियो ।
कम्तिमा पाँच दर्जनलाई पक्राउ गरेको बुझिएको छ । प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो । प्रदर्शन र आगजनीका कारण अवरुद्ध भएको सडक दिउँसो साढे २ बजेपछि संचालनमा आएको छ ।
Categorized in राष्ट्रिय