arin enterprises

चलचित्र 'बगान' एकल आमाहरुप्रति समर्पित

SamacharDesk | २०८० आषाढ २८, बिहिबार

शुक्रवार रिलिज हुने नेपाली चलचित्र 'बगान'को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ ।

बुधवार साँझ बानेश्वरस्थित वन सिनेमाजमा भएको प्रिमियरमा पत्रकारहरूसँगै कलाकर्मी, शुभचिन्तक र राजनीतिज्ञहरूको बाक्लो उपस्थिती रहेको थियो ।

चलचित्र हेर्न उपसभामुख इन्दिरा राना, निर्देशकहरु लक्ष्मीनाथ शर्मा, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, शोभित बस्नेत, ऋषि लामिछाने, अभिनेताहरू कृष्ण मल्ल, अशोक शर्मा, रमेश उप्रेती, मुकुन भुषाल, गायकहरू विकास राणा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, गायिका देविका बन्दना, सुनिता दुलाल, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पूर्व मूख्य सचिव भिम उपाध्याय, लेखकहरु प्रदिप भारद्वाज, विकास सुवेदी, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

चलचित्र हेर्ने अधिकांशले केहि दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिए भने यसै चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी प्रमिला कार्कीको अभिनयको तारिफ गरे ।

सँधै चुलबुले भूमिकामा अभिनयमा देखिने करिश्मा मानन्धरले गम्भीर भूमिकामा अभिनय गरेको अब्बल अभिनेत्री प्रमाणित गरेको भन्दै प्रशंसा भएको छ । चलचित्र हेरिसकेपछि छोरी सानो हुँदा उसले 'बजारमा बुवा किन्न जाम न' भन्ने गरेको सम्झना गर्दै उपसभामुख इन्दिरा रानाले त्यस प्रकारका समस्याबाट गुज्रेका सबै छोराछोरीले 'बगान'बाट धेरै कुरा सिक्न सक्ने बताईन् ।

एकल आमा उनले चलचित्रमा छोरीले आमाको लागी जे गरेकी छन्, त्यहि काम छोराले पनि गर्न सक्यो भने समाज उत्तम हुने बताईन् । यो चलचित्रले देशभरनै एकल आमाहरूलाई निशुल्क चलचित्र देखाउने घोषणा गरिसकेको छ ।

यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ । यस चलचित्रमा खनाल, मानन्धर, कार्कीसँगै, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

'बगान'को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

Categorized in पेजथ्री