नक्सा पास नगरी बनाएका संरचना महानगरद्वारा हटाईंदै
SamacharDesk | २०७९ भाद्र ८, बुधबार

काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा डोजर चलाएको छ ।
यस क्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । आज बिहान मेयर बालेन्द्र शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहितको उपस्थितिमा काठमाडौं मल अगाडि बनेका अनधिकृत संरचना हटाइएको हो ।
यसैगरी, खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा पनि भत्काएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएपछि महानगरले खिचापोखरी क्षेत्रका संरचना भत्काएको हो ।
प्रहरीले संचरना भत्काउनु अगाडि पसल खाली गराएको थियो । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलअगाडि अनधिकृत रूपमा बनाइएका संरचना हटाएर खाली गराउने काम भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सुन्धारा क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचनाहरू हटाइने महानगरले जनाएको छ । पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।
केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा सञ्चालन भएका पसलहरू भत्काएको थियो ।
Categorized in राष्ट्रिय