सेभिल्लालाई हराउँदै बार्सिलोना फाइनलमा
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ फाल्गुण २०, बिहिबार

कोपा डेल रे फुटबलमा सेभिल्लालाई हराउँदै बार्सिलोना फाइनलमा प्रवेश गरेको छ ।
गए राति आफ्नै मैदान क्याम्प नाउमा भएको सेभिल्ला विरुद्धको दोश्रो लेगको सेमिफाइनल खेल समग्रमा ३–२ जित्दै बार्सिलोना फाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा बार्सिलोना २–० ले पराजित भएको थियो ।
हिजो राति सम्पन्न खेल बार्सिलोनाले ३–० ले जितेको हो । बार्सिलोनालाई जित दिलाउन उसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक÷एक गोल गरे ।
खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सालाई अग्रता दिलाए । त्यसपछि निर्धारित ९० मिनेटसम्म बार्सालाई कुनै गोल गर्न सकेको थिएन ।
इन्जुरी समयको चौथो मिनेटमा एन्टोनी ग्रिजम्यानको पासमा पिकेले गोल गर्दै बार्सालाई खेलमा फर्काउँदै समग्रमा २–२ को नतिजामा पुर्यायो । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा ९५ औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्साको फाइनल यात्रा पक्का गरे ।
खेलको इन्जुरी समयको दोश्रो मिनेटमा फर्नान्डो र एक सय ३ औं मिनेटमा लुक गे जोङ्ग रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि सेभिल्ला ९ खेलाडीमा सिमित भएको थियो ।
सेभिल्लाले ७३ औं मिनेटमा पाएको पेनाल्टीको मौका खेर फालेको थियो । लुकास ओकाम्पोसले हानेको पेनाल्टी सट खेर जाँदा सेभिल्लाले हार व्यहोर्नुपरेको थियो ।
अब दोश्रो सेमिफाइनल खेल एथ्लेटिक बिल्बाओ र लेभान्टेबीच हुनेछ । यस खेलको विजेतासँग बार्साले उपाधीको लागि प्रतिस्पर्धा गर्नेछ । बिल्बाओ र लेभान्टे सेमिफाइनलको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी खेलेका छन् ।
Categorized in स्पाेर्ट्स