बार्सिलोना र आर्सनल अन्तिम आठमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण ३०, बुधबार

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । बार्सिलोनाले नापोलीमाथि समग्रमा ४–२ को नतिजा सहित चार वर्षपछि अन्तिम आठमा प्रवेश गरेको हो ।
पहिलो लेगमा १–१ गोलको बराबरीमा खेलेको बार्साले दोस्रो हाफमा ३–१ को शानदार जित निकाले ।
मंगलबार भएको दोस्रो लेग खेलको १५ औं मिनेटमा फर्मिन लोपेजले र १७ औं मिनेटमा जोआओ केन्सेलोले गोल गर्दै बार्सिलोना दोब्बर अग्रताले अघि बढेका थिए ।
अमिर रहमानीले नापोलीका लागि गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए ।
त्यस्तै, आर्सनलले पनि खेलमा एफसी पोर्टोलाई हराउँदै अन्तिम आठमा स्थान बनाए । आर्सनलले पेनाल्टी सुटआउटमा पोर्टोलाई ४–२ गोल अन्तरले हराउँदै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पहिलो लेगमा १–०ले पराजित भएको आर्सनलले दोस्रो लेगमा १–० ले नै विजयी हुँदा समग्रमा खेल १–१ गोलको बराबरीमा सकेको थियो ।
त्यसपछि पेनाल्टी सुटआउटमा आर्सनलले बाजि मार्यो । च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र १५ मार्चमा हुने छ ।
