arin enterprises

गंगारानीमा वर्षा शिवाकोटी

SamacharDesk – विजयरत्न | २०८३ जेठ १२, मंगलबार

अभिनेत्री वर्षा शिवाकोटी चलचित्र ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् ।

अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटीको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ ।

त्यसैगरी पोस्टरको अगाडि एक युवकको कालो छायाँ देखाइएको छ । उक्त छायाँले सिनेमाको कथामा कुनै गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ । छायाँका ती व्यक्ति को हुन् भन्ने कुरा चाहिँ खुलाइएको छैन् ।

यो सिनेमाको छायांकन भदौ दोस्रो हप्ताबाट सुरु गरिने निर्देशन साने बताउँछन् ।

आहा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको लेखन तथा निर्देशन राजबहादुर सानेको रहनेछ ।

यो सँगै निर्माण टिमले कास्टिङ कलको आह्वान पनि गरेको छ । एक पोस्टरमार्फत टिमले मुख्य पात्रहरूमा ४ महिला र ४ पुरूष आह्वान गरेको हो । आवेदन अवधि जेठ २० सम्म रहनेछ ।

निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका सिनेमा लेखन तथा निर्देशन गरिसकेका छन् ।

‘बुलाकी’ बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कार समेत जितेका थिए । आहा फिल्मस्कै ब्यानरमा निर्माण भएको र निर्देशक सानेले नै निर्देशन गरेको सिनेमा ’लज्जावती’ हाल प्रदर्शनको तयारीमा छ ।

Categorized in पेजथ्री