‘राजनीतिमा एजेन्डा र पुस्तान्तरण महत्वपूर्ण’- पूर्व मूख्यमन्त्री शाही
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८२ बैशाख २५, बिहिबार

कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री जीवनबहादुर शाहीले राजनीतिमा एजेन्डा र पुस्तान्तरण महत्वपूर्ण हुने बताएका छन् ।
हुम्ला ‘ख’ बाट प्रदेश सभामा निर्वाचित पूर्व मुख्यमन्त्री शाहीले नेपाली काँग्रेसका जिल्ला उप–सभापति एवम् साहित्यकार बसन्त रोकाया ‘बसन्तश्री’को बाह्रौं कृति ‘भोट’को लोकार्पण कार्यक्रममा यस्तो बताएका हुन् ।
शाहीले अन्यत्र जेजस्तो भएतापनि नेपाली काँग्रेस हुम्लामा राजनीतिक पुस्तान्तरण र हस्तान्तरण दुबै भएको दावी गर्दै अन्य जिल्ला र दलहरूले पनि यसको सिको गर्नुपर्ने धारणा राखे ।
आफ्नै कृतिमाथि प्रकाश पार्दै सर्जक बसन्तश्रीले आफूले राजनीतिमा पुस्तान्तरण र हस्तान्तरण हुनुुपर्ने, विकासको राजनीतिको नाममा भोटको राजनीति भइरहेको, हिमाली बस्ती भोटहरू कुशल नेतृत्वको पर्खाइमा रहेको, सेवा, सुशासन र विकास देश र जनताको हितमा हुनुपर्ने जस्ता सन्देशहरू दिन चाहेको बताए ।
‘यार्सा, हिमा, जुना र जैमल जस्ता पात्रहरूले भोट खण्डकाव्यताई जीवन्त बनाएको दावी समेत उनले गरे ।
पुस्तकका बारे समालोचना गर्दै प्रा. डा. कुलप्रसाद कोइरालाले बिचार कुहिएको यो बेला यस्तो पुस्तक आउनु सकारात्मक रहेको बताए ।
अर्का समाचालोचक डा. सैलेन्दु प्रकाश नेपालले कविता र लेखनमा समान ढंगले कलम चलाउने प्रतिभा बसन्तश्रीको भोट खण्डकाव्य नेपाली साहित्यमा महत्वपूर्ण कृति भएको बिचार राखे ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष, तरुण दलका पूर्व महासचिव, युवा नेता भूपेन्द्रजंग शाही, डा. प्रेम शर्मा, संविधानसभा सदस्य रीता शाही, नेपाली काँग्रेस केन्द्रीय सदस्य साथै पूर्व सांसद रंगमति शाही, नेपाली काँग्रेस हुम्लाका पूर्व सभापति जयपति रोकाया, पुस्तकका प्रकाशक उत्तम कुमार श्रेष्ठ, शंकर तिवारीले पनि पुस्तकका बारेमा विवेचना गरेका थिए ।
Categorized in पेजथ्री