arin enterprises

किजापूजा/भाइटिका मनाईंदै

SamacharDesk | २०८१ कार्तिक १८, आइतबार

आज तिहारको पाँचौं दिन अर्थात भाइटीका । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहे पनि दिनभर जुनसुकै साइतमा भाइटीका गर्न सक्ने नेपाल पञ्चांङ निर्णायक समितिले जनाएको छ ।

यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता छ ।

विभिन्न मौलिक चाडवाड, सभ्यता तथा संस्कारका धनी नेवाः समूदायले पनि काग तिहार र कुकुर तिहार मनाएतापनि मूल रुपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाईटिका मनाउँदै आएका छन्  ।

तीन दिन सम्म लगातार रुपमा मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाड पर्व हो ।

स्वन्ति नखःको किजापूजा गर्दा तेलको मण्डप बनाई दिदीबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाइदिने गर्दछन् । किजापूजाको क्रममा दिदीबहिनीहरुले दाजुभाईलाई अण्डा सगुनको साथमा फल सगुन पनि दिने गर्दछन् । फल सगुनमा भोगटे, बिमिरोको साथमा विभिन्न फलफुल राख्ने गरिन्छ ।

पञ्चतत्वको शरीरमा सबै तत्व सन्तुलित रही कहिल्यै स्वास्थ्य समस्या नआओस् भन्ने कामनासहित पंचतत्वकै प्रतिकको रुपमा अण्डाको साथमा माछा, मासु, मासको वः र मद्यसहितको अण्डा सगुन दिने गरिन्छ ।

अरु समुदायका दिदीबहिनीहरु पनि आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाउँदैछन् ।

आजको दिनलाई यम द्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रही आएको छ ।

अष्ट चिरञ्जीवी र नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

Categorized in संस्कृति