arin enterprises

फागु पर्वमा मृदङ्ग बजाइ गाइने गाली रागका भजन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण २२, सोमबार

हरेक वर्ष फागु (होली) पर्व आउने गर्दछ । र सबै जना रंगसँगै रमाउँदै फागु खेल्ने गर्छन् । तर स्थान विशेष अनुसार फागुको रौनक, फागुको माहौल फरक हुने पनि गर्दछ ।

फागु पर्व सुरु भएसँगै ललितपुर मंगलबजारको कृष्ण मन्दिर परिसर पुरै संगीतमय हुने गर्दछ । यहाँ फागु पर्व सुरु भएपछि हरेक साँझ मृदंग घन्किने गर्छ र मृदंगसँगै भजनले वातावरणलाई भक्तिभावमा डुबाउने गर्दछ ।

हो, फागु पर्वसँगै फागुन शुक्ल अष्टमीदेखि फागुन पुर्णिमासम्म हरेक साँझ मृदंग बजाउँदै गाली रागका भजनहरु गाउने गरिन्छ ।

सामान्यतः चीरोत्थानपछि फागुको विधिवत सुरुवात हुने मान्यता छ । काठमाडौंमा हनुमानढोकाको मोहनकाली चोकसँगै वसन्तपुरमा चीरोत्थान गर्ने गरिन्छ ।

पाटनमा भने कृष्ण मन्दिरको अगाडि फागुण शुक्ल अष्टमीको दिन चीरोत्थान गर्दै फागु पर्वलाई स्वागत गरिन्छ ।

 

चीरोत्थान पछि यहि चीरको सामुन्ने बसेर मृदङ्ग बजाई एक हप्तासम्म भजन गाइन्छ ।

फागु पर्वमा गाली राग गाइने गरिन्छ । यहाँ मंगलबजारमा पनि गाली रागमै आधारित भजन गाइन्छ । यहाँ गाली राग गाउन सुरु गरेपछि मात्रै पाटन सहरको अरु ठाँउमा गाली राग गाउन मिल्ने चलन छ ।

भजनमा गाउनै पर्ने ६ वटा गीतहरु छन् । त्यस बाहेक अन्य भजनहरु गाउन कर भने छैन । अन्य भजनहरु समूहको इच्छा वा सहजता अनुसार गाइन्छ ।

अनिवार्य गाउनुपर्ने ६ वटा गीतहरु यस प्रकार रहेका छन्ः

१) राग वसन्त अन्तर्गत आयोरी वसन्त

२) राग सारंग अन्तर्गत राधिका मेरो वरण

३) राग नट अन्तर्गतको वनिराधा मोहण

४) राग जट अन्तर्गत कुनै एउटा भजन

५) राग गाली अन्तर्गत कुनै एउटा भजन

६) राग गाली अन्तर्गत कुनै एउटा आरती ।

भजन गर्दा सुरुमा द्यः ल्हाये गरी क्रमशः १, २, ३ का भजनहरु गाइन्छ । त्यसपछि इच्छा, सहजता अनुसार समूहले अरु भजनहरु गाउने गर्छन् ।

फागुका प्रायः भजनहरु कृष्णलीलामा आधारित छ । त्यसपछि क्रमशः जट राग र गाली रागमा आधारित भजन गाइन्छ ।

जट रागको भजन भने गाली राग भन्दा अगाडि नै गाउनुपर्ने परम्परा रहेको छ । यहाँ गाली राग गाएपछि अरु राग गाउन नहुने नियम छ । यो सबै ऋतुगत रागहरुको नियम हो । अन्त्यमा आरति गरी भजन सम्पन्न हुने गर्दछ ।

अन्य समयमा जयश्री, काफी, गौरी, मालुवा, आदि रागमा गाइने आरतिका गीतहरुलाई चीर मृदङ्ग भजनमा गाली रागमा नै गाउने गरिन्छ ।

तर कुनै कुनै स्थानमा भने फागुको रागलाई काफी राग नै भनी गाइएको पनि पाइन्छ । आरती भजनपछि द्यः ल्हाये गरी आरति लिई प्रसाद ग्रहण गरेपछि भजन कार्यक्रम सकिन्छ ।

यस्तै अन्तिम दिन अर्थात् फागु पूर्णिमा (होली) को दिनमा पनि सोही प्रकारले भजन गाइन्छ । भजन सकेपछि गुठि संस्थानका कर्माचारीहरु आएर चिरलाई सिकबहिल लगेर दहन गर्छन् ।

चीर दहन गरी फर्केर आउँदा गाली राग गाउन बन्द हुन्छ र पाँहाचःर्‍हेसम्म  घातु रागमा आधारित गीतहरु गाउने र बजाउने गरिन्छ । प्रायःजसो होली पर्वलाई होलिका दहनसँग जोडेको पाइन्छ ।

तर फागुलाई कृष्णलीलासँग पनि जोडेर हेर्ने गरेको पाइन्छ । यस मृदङ्ग भजनमा गाईने भजनहरु पनि कृष्णलीलासंग सम्बन्धित भनिएको छ ।

साथमा फागु सुरु भएको प्रतिकका रुपमा ठड्याइने चीर पनि कृष्णले गोपिनीहरुको वस्त्रहरण गरेको लीलासँग जोडिएको पाइन्छ । यसै फागु पर्वलाई महादेवले कामदेवलाई तेश्रो नेत्र खोली कामदेव भष्म गरिदिएको प्रसङ्गसँग पनि जोडिएको छ ।

धर्म, आस्थाको विषय विश्वाससँग जोडिएको छ । जसलाई जुन कुरामा विश्वास लाग्यो त्यहि सत्य हो, त्यहि परम्परा हो ।

तर हाम्रो धर्म, संस्कृतिसँग जोडिएका मूर्त, अमूर्त सम्पदाको संरक्षण महत्वपूर्ण विषय हो । पाटन मंगलबजारको मृदंग भजन यस्तै अमूर्त सम्पदा हो ।

यसको संरक्षणमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी छ ।

फागु पर्वमा मंगलबजारमा गाइने जट रागको एक भजन

मृग नैना छिनारिया जल भरन आई ।। खैचत दोरी कुवाके पानी, आधा कुच देखाई ।। १ ।।

माटीके गागरी शिर चढाई छातिया फरक देखाई ।। २ ।।

फागु पर्वमा मंगलबजारमा गाइने गाली रागको एक भजन

राजा वलिके द्वार मचिहो फागू ।।

राजा वलिकेद्वार राम आये लक्षमण आये ।। दसरथ रथचदीके ।। १ ।।

ब्रह्मा आये बिष्णु आये ।। महेश्वर आये वैल चदिके ।। २ ।।

पाण्डव आये कौरव आये ।। भिमसेन आये गदा धारिके ।। ३ ।।

रिद्धि आये सिद्धि आये ।। गणेश आये मूसा चढिके ।। ४ ।।

Categorized in संस्कृति