arin enterprises

भक्तपुरमा उठेन बिस्काः जात्राको यःसिँ

SamacharDesk – बिराज | २०७८ बैशाख १, बुधबार

बिस्काः (बिस्केत) जात्राको क्रममा भक्तपुरमा वर्षको अन्तिम दिन यःसिँखेलमा उठाइने यःसिँ यस वर्ष उठ्न सकेन । हिजो राति करीब १२ बजेसम्मको अनवरत प्रयास पछि पनि यसपालि यःसिँ उठ्न नसकेको हो ।

हिजो साँझको करीब ५ः३० बजेबाट यःसिँ उठाउन शुरु गरिएको थियो । राती १२ बजेतिर आधाभन्दा बढि उठिसकेको यःसिँ फेरी ढलेको थियो । उठिसकेको यःसिँ फेरी ढलेपछि हिजो यःसिँ उठाउने प्रयास छोडिएको हाे ।

हिजो उठाउन नसकिएको यःसिँलाई आज उठाउने कार्यक्रम रहेको छ । वर्षको अन्तिम दिनमा ५५ हात लामो यःसिँ उठाएर त्यसको भोलिपल्ट वर्षको पहिलो दिन ढाल्ने परम्परा रहेको छ ।

हिजो उठाउन नसकिएको यःसिँ आज उठाइ केही समयपछि आजै ढालिनेछ । विगतका वर्षहरुमा पनि वर्षको अन्तिम दिन यःसिँ उठाउन नसकिए त्यसको भोलिपल्ट उठाएर सोही दिन ढाल्ने गरिएको छ ।

यसैबीच भक्तपुरको पोटरी स्क्वाएरमा हिजो विना हातको यःसिँ उठाइएको थियो । त्यसैगरी मध्यपुर थिमि लगायत, साँखु, टोखामा पनि यःसिँ उठाइएको छ भने ललितपुरको भोलढोकामा पनि यःसिँ उठाइएको छ ।

Categorized in संस्कृति