arin enterprises

भक्तपुर नगरसभाद्वारा एमसीसी खारेजीको माग

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २७, बिहिबार

भक्तपुर नगरपालिकाको जारी ११ औँ नगरसभाका सभासद्हरूले ‘देशघाती’ एमसीसी खारेजीको माग गरेको छ ।

नगरपालिकाका प्रमुख एवं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिले एमसीसीको विषयमा वर्तमान प्रधानमन्त्री र सत्ता गठबन्धनका माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई ढाँटेको प्रमाणित भएको बताउँदै यस्तो राष्ट्रघाती सम्झौता नगर्न माग गरेका हुन् ।

सभामा बोल्दै अर्का सभासद् राजेन्द्र माकले एमसीसी पारित भए नेपालको बौद्धिक सम्पत्तिमा पनि अमेरिकाले एकलौटी अधिकार राख्ने खतरा भएको जनाएका छन् ।

सभासद् छोरीमैँया सुजखूले एमसीसीलाई अमेरिकी साम्राज्यवादको संज्ञा दिँदै यस किसिमका थिचोमिचोविरुद्ध जनतालाई सचेत र संगठिन हुन आग्रह गरेकी छिन् ।

त्यस्तै, सभासद् तुल्सीलक्ष्मी दुमरुले देशका शासक दल र तिनका नेताहरूको सत्ता स्वार्थका लागि विदेशी शक्तिसामु झुक्ने प्रवृत्तिले देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि खतरा बढिरहेको बताइन् ।

सभासद् पूर्णगोपाल राजचलले एमसीसीको विरोध गर्दै एमसीसीको नाममा अमेरिकी अनुदान पाएका कुनै पनि देशको आर्थिक अवस्था माथि नउठेको उदाहरण दिए ।

सोही क्रममा सभासद्हरू शिवप्रसाद बाला, जितेन्द्र मुनकर्मी, सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु र गोविन्द दुवालले एमसीसी सम्झौता खारेज हुनुपर्ने माग राखेका थिए । बैठकले आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि २०७८ माघ मसान्तसम्मको कार्यपालिका बैठक निर्णय विभिन्न समिति–उपसमितिको निर्णय प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तहबाट भएका सम्पूर्ण निर्णयहरू, आदेश र काम कारबाही सभाबाट अनुमोदन गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

नगरसभाको अर्को बैठक २०७८ फागुन ३ गते मंगलबार बस्नेछ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082