arin enterprises

सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती मनाईंदै

SamacharDesk | २०८१ पौष ८, सोमबार

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १ सय १औं जन्मजयन्ती मनाइदैछ ।

नेपाली कांग्रेस तथा यसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी सन्त नेता भट्टराईको स्मरण गर्दैछन् । भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए।

नेपाल अधिराज्यको संविधान २०४७ (१९२४-२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए।

उहाँ २०४८ को आम निर्वाचनमा पराजित भएपनि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए।

सन्त तथा आध्यात्मिक नेताको रुपमा परिचित भट्टराईलाई नेपालको महात्मा गान्धीको रुपमा लिने गरिन्छ ।

यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए।

भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए। गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे।

हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो।

पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।

बिक्रम संवत १९८१ साल पौष ८ गते जन्मनुभएका सन्तनेता भट्टराइको २०६७ साल फागुन २० गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।

Categorized in राष्ट्रिय