arin enterprises

भिंद्यः जात्रा सम्पन्न

SamacharDesk – Ram Dangol | २०८० भाद्र २३, शनिबार

हरेक वर्ष झैं यो वर्ष पनि ललितपुरस्थित भिंद्यः जात्रा अर्थात् भिमसेन जात्रा शुक्रबार सम्पन्न भएको छ ।

भाद्र कृष्ण नवमी अर्थात् कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने यो जात्रा ललितपुरको मंगलबजारस्थित मन्दिरमा रहेका भिमसेन महाराजलाई खटमा राखी नगर परिक्रमा गर्दै जात्रा सम्पन्न भएको हो ।

यस जात्रालाई नेपाल भाषामा भिंद्यः जात्रा पनि भनिन्छ । भिंद्यःअर्थात असल देवता । नेपाल भाषामा ‘भिं’ भनेको असल र राम्रो र ‘द्यः’ भनेको देवता हो। धेरैले भिंद्यः र भीमसेनलाई एउटै माने पनि यी दुवै एकै देवता नभएको संस्कृतविद् ओम धौभडेल बताउनुहुनछ ।

संस्कृतिविद् धौभडेलका अनुसा नेवारहरुले पूजा गर्ने देवता भीमसेन नभएर भिंद्यः हो। भिंद्यःको कुनै आकृति नहुने भएकाले महाभारतको भीमसेनलाई नै कालान्तरमा भिंद्यः मानिएको हो।

अहिले पनि पुराना भिमसेन मन्दिरहरुमा राखिएको देवताको आकृति हुँदैन। त्यहाँ ढुङ्गामात्र राखिएको हुन्छ । उदाहरणको रुपमा दोलखाको भिमसेन मन्दिरलाई लिन सकिने धौभडेलले बताउनु हुन्छ ।

जात्राका अवसरमा भीमसेनको सानो प्रतिमालाई मन्दिरको गर्भगृहबाट निकाली मन्दिर अगाडिको डबलीमा राखिएको थियो । त्यस बेला दर्शनका लागि ललितपुरको साथै काठमाडौं उपत्यका र विभिन्न स्थानबाट भक्तजनहरु घुइँचो लागेको थियो ।

त्यसपछि मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको हो । भीमसेनको खट यात्रा शुरु गर्नु अघि भीमसेनको प्रतिमालाई पट्कोका राजोपाध्यायहरुले कमलको फूल चढाइ पूजा गर्ने परम्परा रहेको छ ।

मंगलबजारबाट शुरु भएको खट यात्रा हःखाबाट सौगल हुँदै सुन्धारा, महाबौद्ध, ओकुबहाल, थैना, चक्रबहिल, टङ्गल, हौगल, तिच्छुँगल्ली, इखालखु, जेनबहाल, वलाबाट पुर्णचण्डी पुगेको थियो ।

फेरी खट यात्रा पूर्णचण्डीबाट अघि बढ्दै प्यंगःथांबाट पिम्बहाल हुँदै बालिफल, नकबहिल, क्वालखु, झटापोल, कुम्भेश्वर, स्वथबाट मंगलबजारमै पुगेर सम्पन्न भएको थियो । भीमसेन महाराजको खट यात्रा पूर्व पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक भिमसेन मन्दिरमा अघिल्लो रात अर्थात भाद्र कृष्णाष्टमीको रातदेखि नै भक्तजनहरु पूजाआजाका लागि घुँइचो लागेको थियो ।

भक्तजनहरुले पञ्चमकारसहित सम्हयबजि चढाएर बलिसमेत दिइ भीमसेन महाराजको पूजा गर्ने गर्दछ । ललितपुरमा भीमसेन जात्रा सम्पन्न पछि मात्र सापारु अर्थात गाईजात्राको सम्पूर्ण गतिविधि पनि सम्पन्न हुने गर्छ ।

भीमसेनलाई नेवाः समुदायमा मात्र नभई सम्पूर्ण व्यापार व्यवसायीहरुको आराध्यदेवका रुपमा पुजिने गर्छ । त्यस्तै आजको दिनमा भीमसेनको पूजा गर्नाले व्यापार व्यवसाय फस्टाउने जनविश्वास रहिआएको छ ।

व्यापारमा लागेकाहरुले विशेष रुपमा भिमेसेनको पुजा गर्छन् । काठमाडौं उपत्यकाका नेवार समुदायले व्यापार व्यवसाय शुरु गर्नु अघि भिमसेनको पूजा गर्ने चलन छ ।

किंवदन्ती अनुसार परापूर्वकालमा तिब्बतमा व्यापार गर्न जाँदा बीचबाटोमा लुटिने र रोगब्याधीले सताउँदा भिमसेनको पूजा गरेपछि त्यसबाट मुक्त भएको विश्वास व्यापारीको छ ।

त्यसैलाई अहिले पनि निरन्तरता दिइएको हो । भिमसेनको पुजा र दर्शन गर्नाले व्यापार व्यवसाय बृद्धि हुने भएकाले जात्रामा काठमाडौं भक्तपुर बनेपा धुलिखेल लगायतबाट जनसहभागिता भएको छ ।

Categorized in संस्कृति