arin enterprises

भिंद्यःको १२ वर्षे जात्रा : 'न्यास (प्राण) निकालेर कलेवर गर्ने'

SamacharDesk – राम डंगोल | २०८० चैत्र १, बिहिबार

हरेक १२ वर्षमा एकपटक मनाइने काठमाडौंको भिसेनस्थानस्थित श्री भिंद्यः (भिमसेन)को बाह्र वर्षे जात्रा हिजोबाट सुरु भएको छ ।

हिजो रातीको उत्तम साइतमा गुथियारहरुले मन्दिरको गर्भगृहमा रहेको भिमसेनको मूर्ति साथसाथै अर्जुन र द्रौपदीको मूर्तिलाई मन्दिरको बीच भागमा रहेको झ्यालबाट ओरालियो । जसलाई स्थानीय भाषामा भिंद्यः कुहाँबिज्याय्केगु भन्ने गरिन्छ ।

मन्दिरबाट निकालेर नजिकै रहेको भिंद्यःको बाह्र वर्षे फल्चामा राखियो । अब करिब १ देखि ३ महिनाको लागि भिसेनको मूर्ति सोही फल्चा (पाटी)मा राखिन्छ । (जसलाई स्थानीय भाषामा बलय् तय्गु भन्ने गरिन्छ ।)

सर्वप्रथम मन्दिरबाट भिमसेन देवतालाई बाहिर निकाल्नका लागि विभिन्न पूजाआजा गरी न्यास (प्राण) निकालिन्छ । जसको लागि चैत २५ गते शिवरात्रीदेखि नै विधिवत रुपमा विभिन्न पूजाआजा गरिएको थियो ।

यसरी न्यास निकालिसकेपछि भिमसेन देवतामा प्राण नहुने भएकोले उक्त मूर्तिलाई फल्चा (पाटी)मा लगेर ‘कलेवर’ गर्ने (आवश्यक मर्मत संभार, रंगरोगन) कार्य गरिन्छ ।

यस सम्बन्धमा गुथिका थकाली जयराम मल्लले, “यो हाम्रो भिंद्यः १२ वर्षमा एक पटक कलेवर फेर्ने गरिन्छ । १२ वर्ष हुँदा देवता विग्रिने रंग उप्किने हुन्छ, जसको मर्मत सम्भार गर्न रंगरोगन गर्नका लागि नजिकैको फल्चामा राख्नेलाई १२ वर्ष जात्रा भन्ने गरेको छ ।” उहाँले बताउनुभयो ।

भिमसेन, अर्जुन र द्रौपदीलाई यसरी फल्चामा गुप्त रुपमा राख्ने कुरा महाभारत हुनु अघि पाण्डवहरु १२ वर्ष वनबास र १ वर्ष अज्ञात बास बसेको कथासँग मेल खान गएको देखिन्छ । सो विषयमा मल्लले यो कुरा विवादित रहेको बताए ।

उनले भने, “यसमा चाहिँ विवाद नै देखिएको छ । कतै यो कुरालाई महाभारतको भिमसेन देवता भनेर पुजिंदै आएको छ भने कतै नेवारहरुले मान्दै आएको व्यापारिक देवता भिंद्यःका रुपमा पुजिंदै आएको छ । यसैले यो कुरा यही नै हो भन्नेमा फरक फरक विचारहरु रहेको छ ।”

जात्रामा भिमसेन देवतालाई मन्दिरको बीच झ्यालमा बाटो बनाइ बाहिर निकाल्ने गरिन्छ । देवता भनेको मान्छे हिँड्ने बाटोबाट नल्याई अलग्गै बाटोबाट ल्याउने परम्परा रहेकोले झ्यालमा बाटो बनाई बाहिर निकाल्ने गरेको मल्लले बताए ।

 १२ वर्षे जात्रामा देवतालाई निकाल्दा कसैले हेर्न नहुने मान्यता रहेको जनश्रुति पाइन्छ । सो सम्बन्धमा मल्लले बताए, “देवतालाई तल निकाल्दा देवताको न्यास (प्राण) निकालिसकेको हुन्छ । देवतालाई निकाल्दा प्राण झिकिसकेको हुनाले मरितुल्य हुन्छ र सेतो कपडाले बेरेर ल्याइन्छ, जुन सर्वसाधारणले प्राण नभएको मृत देवतालाई हेर्न हुँदैन ।” तर हेर्न नहुने भएपनि हिजोआज भने राती नै भए पनि हेर्नेहरुको भीड लाग्ने उहाँ बताउनुहुन्छ ।

नेपाल सम्वत् ६६० मा मल्ल राजाका सन्तान तयु (तुयु) थकु जुजुले मन्दिर निर्माण गरी भिमसेन देवताको स्थापना गरेको बताइन्छ । सुरुमा भिमसेनको मूर्ति मात्र स्थापना भएको तरपछि अर्जुन र द्रौपदीको मूर्ति पनि स्थापना भएको थकाली मल्ल बताउँछन् ।

सो समयदेखि नै उहाँहरुले संरक्षण र सम्वद्र्धन तथा मन्दिरको पूजाआजा गर्ने र पुजारीको रुपमा रहँदै आएको उहाँ बताउनुहुन्छ । जात्राको लागि तबो जात र महर्जन जातको विशेष भूमिका रहेको पाइन्छ ।

तबो जातका सदस्यहरुले देवताको आसनहरु निकाल्ने र मूर्तिलाई बोकेर फल्चासम्म ल्याइपु¥याइन्छ ।

त्यस्तै महर्जन परिवारहरुले भने मूर्तिलाई बाहिर निकाल्न झ्यालबाट बाटो बनाउने तथा फल्चाको मर्मत सम्भार गर्ने र थप परालको फल्चा निर्माण गर्ने गर्दछ ।

यसरी भिमसेन देवतालाई फल्चामा राखेर १ देखि ३ महिनाभित्र आवश्यक मर्मत सम्भार र रंगरोगन गरेर पुनः दशकर्म गरी पूजापाठ गरेपश्चात प्राण प्रतिष्ठापन गरिन्छ र पुन सोही देवताको मार्गबाट मन्दिरमा स्थापना गरिन्छ ।

तत्पश्चात दर्शनका लागि सर्वसाधारणका लागि खुल्ला गरिन्छ ।

Categorized in संस्कृति