जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाईँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ २१, बिहिबार
आज जेठ महिनाको २१ गते अर्थात जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, हरेक वर्ष आजकै दिनमा यो दिवस मनाउने गरिन्छ ।
वि.सं. २०६३ जेठ २१ गते नेपाललाई “जातीय छुवाछूत मुक्त राष्ट्र“ घोषणा गरिएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
सरकारी तथा गैरसरकारी स्तरमा ¥याली, अन्तरक्रिया, गोष्ठी लगायतका विभिन्न सचेतना मूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिएको छ ।
समाजबाट सबै प्रकारका जातीय विभेद र छुवाछुतको अन्त्य गर्नु नै यो दिवसको मुख्य उद्देश्य हो ।
संसदको पुनर्स्थापनापछि वि.सं. २०६३ जेठ २१ गतेको ऐतिहासिक घोषणाले दलित समुदायको आत्मसम्मान बढाउन र कानुनी रूपमा विभेदको अन्त्य गर्ने बाटो खुला गरेको थियो ।
नेपालको संविधान (२०७२) को धारा २४ ले ’छुवाछुत तथा भेदभाव विरुद्धको हक’ लाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसअनुसार जातीय तथा अन्य छुवाछुत र भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराध मानिन्छ ।
विगतका दिनको तुलनामा नेपाली समाजमा जातीय भेदभाव र जातकै आधारमा छुवाछुतको प्रवृत्तीमा निकै कमी आएको छ ।
तथापि आजको दिनमा पनि जातकै आधारमा विभिन्न किसिमका दुर्व्यवहार गर्ने, भौतिक रुपमै आक्रमण लगायतका घटना नसुनिएको होइन ।
दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछुतजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानूनी व्यवस्थाबाट मात्र सम्भव नहुने बताएका छन् ।
दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक विभेद अन्त्यका लागि समाजका सबै तह÷वर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य भएको बताएका छन् ।





