arin enterprises

डी सिने अवार्डमा बिजय बराल र स्वस्तिमा सर्वाेत्कृष्ट

SamacharDesk – विजयरत्न | २०८३ जेठ २२, शुक्रबार

१७औं छायाँछबि डी सिने अवार्डमा ‘अञ्जीला’ सर्वाेत्कृष्ट फिल्म घोषित भएको छ ।

बिहीबार चलचित्र बिकास बोर्डमा सम्पन्न अवार्डमा ०८१ सालभरि प्रदर्शन भएका ५९ फिल्ममध्ये सर्वाेत्कृष्ट निर्देशक मिलन चाम्ससहित ‘अञ्जीला’ ले दुई अवार्ड जित्न सफल भयो ।

सर्वाेत्कृष्ट अभिनेताको अवार्ड ‘पूर्णबहादुरको सारङ्गी’ बाट बिजय बरालले जिते भने सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ‘बेहुली फ्रम मेघौली’ बाट स्वस्तिमा खड्काले हासिल गरिन् ।

सर्वाेत्कृष्ट स्क्रिप्ट ‘सतीदेवी’ फिल्मका लागि लक्ष्मण सुवेदीले जिते । त्यसैगरी, ‘कार्साङ’ फिल्मबाट जीतु नेपालले सर्वाेत्कृष्ट सहअभिनेताको अवार्ड जिते ।

‘पिताम्बर’ चलचित्रबाट पुरुषोत्तम प्रधान सर्वाेत्कृष्ट सिनेमाटोग्राफर घोषित हुँदा यही फिल्मका लागि बन्देप्रसादलाई सर्वाेत्कृष्ट सम्पादक र निर्देशक कृषा चौलागाईलाई जुरी अवार्ड प्रदान गरियो ।

बिगत १७ बर्षदेखि निरन्तर आयोजना हुदै आइरहेको अवार्डमा यसपालि निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई छायाँछबि चलचित्रकर्मी रजत सम्मान प्रदान गरिएको थियो ।

नगद रु १५ हजार ५५५।– राशीको छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार सचित खड्कालाई प्रदान गरियो ।

सर्वाेत्कृष्ट गायकको अवार्ड ‘छक्का पञ्जा ५’ को बिहे भा’को छैन बाट सविन सुवेदीले जिते भने सर्वाेत्कृष्ट गायिकाको अवार्ड पनि सोही गीतबाट बेनिशा पौडेलले प्राप्त गरिन् ।

संगीतकारको अवार्ड भने ‘ज्वाइँसाब’ फिल्मको कसम बत्तिको..बाट अर्जुन पोखरेलले जिते । सर्वाेत्कृष्ट कोरियोग्राफरको अवार्ड रामजी लामिछानले ‘दुखी आत्मा’ फिल्मबाट जिते ।

त्यसैगरी, डायस्पोरा फिल्ममा ‘तेल भिषा’ फिल्म सम्मानीत भयो भने सोही फिल्मबाट ऋचा घिमीरेले सहअभिनेत्रीको अवार्ड जित्दा ‘एक्टर टेक वान’ बाट राजबल्लभ कोइरालाले प्राप्त गरे ।

द्वन्द्व निर्देशकको अवार्ड भने ‘एक्टर टेक वान’ बाट नै अष्ट महर्जनले जिते । डेब्यु निर्देशकको अवार्ड चन्द्र पन्तले ‘ह्रस्व दीर्घ’ बाट प्राप्त गरे ।

अवार्ड समारोहमा छायाँछबि कृएसनका अध्यक्ष शान्तिप्रियले नेपालमा डिजिटल प्रबिधिमा चलचित्र निर्माण हुन सुरु भएसँगै डी सिने अवार्ड सुरु गरिएको स्मरण गर्दै डिजिटल सिनेमाको प्रबर्ध्दनमा अवार्डले टेवा पुर्याएको बिश्वास ब्यक्त गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यसप्रकारका अवार्ड समारोहले नेपाली चलचित्रको बिकास क्रमलाई अघि बढाउन निकै ठूलो सहयोग गरेको धारणा ब्यक्त गरे ।

समारोहमा हाँस्य कलाकार गोपाल ढकाल, अभिनेत्री तेजुला खतिवडा, ब्यबसायी तथा समाजसेवी बिश्वराम मकजु, निर्देशक अमरबहादुर ओली, अभिनेत्री गीता नेपाल, मोडल अस्मिता पुरीलगायतलाई छायाँछबि कला सम्मान प्रदान गरिएको थियो ।

अवार्डको जुरी सल्लाहकारमा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, बरिष्ठ चलचित्र पत्रकार बिजय रत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ, अभिनेत्री सोभिता सिम्खडा थिए ।

Categorized in पेजथ्री