arin enterprises

जाह्वःला ख्यःमा भोटो जात्रा

SamacharDesk – राम डंगोल | २०८१ श्रावण २०, आइतबार

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ भोटो जात्रा आज देखाइँदै छ ।

ललितपुरकै सबैभन्दा लामो तथा महत्वपूर्ण जात्राको रुपमा परिचित बुँगद्यः जात्राको अन्तिम दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रमुखबाट सर्वसाधारणलाई भोटो देखाईन्छ ।

मच्छिन्द्रनाथको रथलाई ललितपुरको लगनखेबाट जावलाखेल पुर्याएसँगै यो वर्षको जात्रा सम्पन्न भएको थियो । थतिटोलमा राखिएको रथलाई तानेर जाउलाखेल पुर्याएको चौथो दिनमा भोटो जात्रा गर्ने गरिन्छ ।

भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) ह्वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको पाइन्छ । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

हिजो साँझ जा ह्वला जात्रा मनाइएको छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागे पनि मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको बताइन्छ ।

किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि मात्र भोटो जात्रको सुरुवात भएको इतिहासविद्हरु बताउँछन् । टौदहस्थित नागराज कर्कोटककी रानीको आँखा दुखेको अवस्थामा कर्कोटक वैद्यको खोजीमा लागे ।

खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो ।

पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् ।

मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आपूmले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो ।

अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो ।

त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।

विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन्। १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।

जावलाखेलमा भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई खटमा राखी बुङमती पुर्याइन्छ। रातो मच्छिन्द्रनाथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ।

जात्रा सकिएर बुङमती पुर्याइएको मच्छिन्द्रनाथ छ महिनासम्म त्यहीँ राखेर साइतअनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ।

Categorized in संस्कृति