भृगुराम र दीपताराको ‘थौं वइला कन्हय् वइला’को नयाँ भर्सन सार्वजनिक
SamacharDesk – बिराज | २०७९ कार्तिक ९, बुधबार

भृगुराम श्रेष्ठ, आफ्नो जमानाका चर्चित गायक । द्यःयात सिन्हाय्स्वां, असंत्वाःया दबू कुनय्, माया रे रतन साथै थौं वइला कन्हय् वइला लगायतका नेपालभाषाका थुप्रै गीतहरु उनले गाएका छन् ।
उमेरले करीब ९० पुगेका उनको आवाजमा अझै उहि दम बाँकि रहेछ । गीत, संगीत भनेपछि औधि मनपराउने भृगुरामले आज पनि गीत गाउने वित्तिकै हरेक मुखबाट निस्किने गर्छ, ‘वाह ।’
५० वर्ष भन्दा पनि पुरानो उनको दीपतारा ताम्राकारसँगको एउटा युगल गीत ‘थौं वइला कन्हय् वइला’ अहिले फेरी रेकर्ड भएको छ । यस गीतको नयाँ भर्सनमा फेरी पनि गायक भृगुराम र गायिका दीपताराले नै गाएका छन् ।
हर प्रहर टिभिको अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक भएको छ । नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४३ को अवसरमा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
गायिक दीपतारा अचेल अष्ट्रेलिया बस्दै आएकी छिन् । उनी नेपाल आएको बेलामा गीत रेकर्डिङ गरिएको हो ।
‘विगतमा करीब ५० वर्ष अगाडी रेडियो नेपालमा रेकर्डिङ गर्दा यो गीत पूरा थिएन । अहिले दीपतारा अष्ट्रेलियाबाट नेपाल आउनुभएको बेला फेरी रेकर्डिङ भएको छ, र यसपालि गीत पनि पूरा भएको छ’ गायक श्रेष्ठले भने ।
सार्वजनिक भएको गीतमा संगीत संयोजन भुपेन्द्र बज्राचार्यले गरेका छन् भने रेकर्डिङ र मिक्सिङ सूर मेलोडि रेकर्डिङ स्टुडियोमा सुरेन्द्र श्रेष्ठले गरेका छन् । लोकलयमा आधारित गीतमा शब्द दुर्गालाल श्रेष्ठको रहेको छ ।
Categorized in पेजथ्री