arin enterprises

विवाह पञ्चमी महोत्सव आजबाट शुरु

SamacharDesk | २०८० मङ्सिर २६, मंगलबार

जनकपुरधाममा साताव्यापी रुपमा मनाइने सबैभन्दा ठूलो उत्सव सीताराम विवाह पञ्चमी महोत्सव आजबाट विधिवत रुपमा सुरु भएको छ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ।

उत्सव अन्तर्गत आज पहिलो दिन नगरदर्शनको कार्यक्रम रहेको छ । आज अपराह्न ४ बजे जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गर्ने गरिन्छ ।

भगवान् श्रीराम पहिलो पटक तत्कालीन मिथिलाको राजधानी जनकपुरधाम आएको सम्झनामा नगर दर्शन कार्यक्रम गरिन्छ ।

त्यसैगरी दोस्रो दिन फूलबारीमा फूलबारी लीला, तेस्रो दिन रंगभूमि मैदानमा धनुष यज्ञ, चौथो दिन राम मन्दिर परिसरमा तिलक महोत्स र पाँचौँ दिन गंगासागर पोखरी घाटमा मटकोर गरिने छ ।

छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन रामकलेवा कार्यक्रम हुने छ । अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आउने साधुशन्तलाई बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।

विवाहपञ्चमी महोत्सवको अवसरमा जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा  ‘मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण गर्न निषेध गरेको छ ।

त्रेतायुगमा भगवान् श्रीराम र जनकपुत्री जानकीको विवाह मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सम्झनामा विवाह महोत्सव हुदै आएको हो ।

Categorized in संस्कृति