आज विवाह पञ्चमी
SamacharDesk | २०८१ मङ्सिर २१, शुक्रबार

त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो ।
शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको मान्यता रहिआएको छ । राम र सीताको विवाह महोत्सव मनाउन देशभरका राम मन्दिर तथा जनकपुरको जानकी मन्दिरमा भव्य समारोहहरुको आयोजना हुने गर्दछ ।
जनकपुरमा राम र सीताको विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ ।
राम र जानकीको स्वयंवर भएको जनविश्वास रहीआएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा(लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ ।
त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।
विवाह पञ्चमी अन्तर्गत दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्ने काम, वाग्दान) सम्पन्न गरिन्छ।
त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परा(अनुसार कन्यापक्षका तर्फबाट गरिने मटकोर कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ ।
आजको दिन विवाह गर्नका लागि कुनै साइतको आवश्यक नपर्ने कथन अनुसार आजको दिन विवाह मन्दिरहरुमा विहे गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।
Categorized in संस्कृति