सम्पदाहरु निर्माण गर्दा एकैपटक बजेट माग्न मेयर शाहको आग्रह
SamacharDesk – Ram Dangol | २०८१ जेठ १०, बिहिबार
२५६८औं बुद्धजयन्तीको अवसरमा थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उक्त विहारको आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा उहाँले काठमाडौं लगायतका अन्य स्थानका सम्पदाहरुको निर्माण तथा पुनःनिर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा बताउनुभयो ।
उहाँले हाम्रो मौलिक शैलीमा पुनःनिर्माणहरु गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताउनु भयो । उहाँले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताउनु भयो ।
उहाँले महानगरपालिका भित्रका सम्पदा पुनःनिर्माणका लागि महानगर जहिल्यै तयार रहेको बताउनु भयो ।
उहाँले अहिले जति पनि पुनःनिर्माण भइरहेको छ तथा हुन बाँकी रहेका सम्पदाहरु छन् तिनीहरुको लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।
महानगरले सम्पदाहरु पुनःनिर्माणका लागि आवश्यक बजेट एकै पटक माग्दा दिँदैन की भन्ने आशंका नगरी सबै पुनःनिर्माणका कामहरु एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।
Categorized in स्थानीय