अब विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा
SamacharDesk – बिराज | २०७७ फाल्गुण २०, बिहिबार

अब विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि शान्तिपूर्ण राजनीतिमा आउने भएको छ । सरकारसँग जारी वार्तामा ३ बुँदै सहमति भएसँगै विप्लव समूह शान्तिपूर्ण वार्तामा आउने भएको हो ।
दुवै पक्षको हस्ताक्षरसहित प्रेस नोट जारी गर्दै ३ बुँदै सहमति भएको जनाएको हो । प्रेस नोटमा नेपाल सरकारकातर्फबाट गृहमन्त्री रामबहाुदर थापा ‘बादल’ र नेकपाका तर्फबाट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को हस्ताक्षर रहेको छ ।
प्रेस नोटमा उल्लेख गरिए अनुसार सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गरिनेछ । त्यसका साथै आफ्नो सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपले संचालन गर्ने पनि सहमति गरिएको छ ।
साथै नेपाल सरकारले पार्टीमाथि लगाएको सम्पूर्ण प्रविधन्ध हटाउने र सम्पूर्ण बन्दिको रिहाई र मुद्दा खारेजी लगायतका विषयमा पनि सहमति भएको प्रेस नोटमा भनिएको छ ।
सहमतिको विस्तृत विवरण आउँदो फागुन २१ गते दिनको २ बजे विशेष समारोहका बीच सार्वजनिक गरिने जनाइएको छ ।
कार्यक्रमलाई नेपाल सरकारकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टीका तर्फबाट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।
हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै नेपाल सरकारले विप्लव समूहमाथि गत २०७५ फागुन २८ मा प्रतिवन्ध लगाएको थियो ।
