arin enterprises

बीमा कम्पनीहरुले विकेन्द्रित रणनीति अपनाउन अध्यक्ष सिलवालको आग्रह

SamacharDesk | २०८० कार्तिक १६, बिहिबार

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभई सबै प्रदेश र स्थानीय तहहरूसम्म पुगेर बीमा व्यवसाय विस्तार गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।

नेपाल बीमा प्राधिकरणद्वारा यही कात्तिक १५ गते बुधबार काठमाडौंमा आयोजित मर्जर भएका बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले पूँजीको अधिकतम् सदुपयोग हुनेगरी अघि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीहरूको आफ्नै खालको व्यवसायिक रणनीति हुनुपर्छ, बीमा व्यवसायलाई स्वच्छ, स्थीर, दिगो र नाफामूलक बनाउनुपर्छ, बीमा गर्न नागरिकहरू बीमा कम्पनी खोज्दै आउने नभई कम्पनीहरू नै नागरिककोमा जानुपर्छ, कम्पनीहरू व्यवसायिक किसिमले अघि बढ्नुपर्छ ।”

“मर्जर भएका बीमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेको छ, लगानीका लागि पर्याप्त पूँजी भएको छ, मर्जरबाट बीमा क्षेत्रमा सकारात्मक प्रभाव परेको छ” उहाँले भन्नुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणले पूँजी वृद्धिको निर्णय गरेपश्चात् बीमा कम्पनीहरू पूँजी पु¥याउन स्वतःस्फुर्तरूपमा मर्जरमा गएको उल्लेख गर्नुहुँदै कम्पनीहरूले तोकिएको अवधिभित्र पूँजी पु¥याउनुपर्ने र त्यसका लागि सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।

केही बीमा कम्पनीहरूका तर्फबाट मर्र्जरपछि मानव स्रोत व्यवस्थापनमा बढी समस्या देखिएको, पूँजी वृद्धिको तुलनामा व्यवसाय नबढेको, बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बुझाउन र शाखा तथा उपशाखा व्यवस्थापन गर्न थप समय आवश्यक परेको, मर्जरपश्चात् कर छूट लगायतका सहुलियत पाउन बाँकी रहेको लगायतका गुनासाहरू राखिएका थिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गर्नुभएको कार्यक्रममा प्राधिकरणका निर्देशकहरू, मर्जर भएका जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्ष तथा सदस्यहरू र प्रमुख कार्यकारी अधिकृतहरू तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Categorized in विजनेस