विराट नेपालभाषा साहित्य सम्मेलन भक्तपुरमा सम्पन्न
SamacharDesk – समाचार श्रोत : अमिर मैया रञ्जित–नेवाः सूचना केन्द्र | २०७७ कार्तिक १२, बुधबार

नेपालभाषा साहित्य क्षेत्रकै एक प्रतिष्ठित कार्यक्रमको रुपमा लिइने भक्तपुरको विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ ।
विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले आज भक्तपुरमा ५० औं बिराट नेपालभाषा साहित्य सम्मेलनको आयोजना गरेको हो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै भौतिक दुरी कायम गर्नुका साथै मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाइ कार्यक्रम गरिएको थियो ।
साथमा कम संख्यामा मात्र साहित्यकारहरु भेला गराई सम्मेलनलाई निरन्तरता दिइएको गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले बताउनुभयो ।
सम्मेलनमा यस वर्ष नेपालभाषा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने कबिन श्रेष्ठलाई नगद सहितको ‘सुरत्न पुरस्कार’ र एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने जगत सुन्दर ब्वनेकुथि विद्यालयकी सुस्मिता राजभण्डारीलाई ‘नेपालभाषा पदक’ प्रदान गरिएको थियो ।
पुरस्कृत विद्यार्थीहरुलाई साहित्यकार गोविन्दमान श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो ।
सोही कार्यक्रममा ‘ह्याउँबाला’ पत्रिकाको २८औं अंकको पनि साहित्यकार श्रेष्ठले लोकार्पण गर्नुभयो ।
त्रिरत्न शाक्यको कविता वाचनबाट शुरु भएको साहित्य सम्मेलनमा रेणु श्रेष्ठ, सुरेश श्रेष्ठ, शौरभ शाक्य, तेज कृष्ण श्रेष्ठ, न्हुच्छेभक्त कवाङ लगायतले कविता, लघुकथा, हाइकु लगायतका विभिन्न साहित्यिक रचना वाचन गरेका थिए ।
साथै कुमुद श्रेष्ठ, शरद कसाः, धर्मराज राजकर्णिकार, नारद बज्राचार्य, राजभाइ जकःमि, बसन्त नकःमि, नरेन्द्र जोशी, हरि गोबिन्द भ्वमि, बाबुकाजी सुवाल र गोविन्द मान श्रेष्ठले आआफ्नो साहित्यिक रचना वाचन गरेका थिए ।
Categorized in पेजथ्री