जोशी समाज काठमाडौं जिल्लामा बीरेन्द्र कुमारको नेतृत्व
SamacharDesk – बिराज | २०८२ कार्तिक २३, आइतबार
जोशी समाज काठमाडौं जिल्लाको वर्तमान कार्यकाललाई बीरेन्द्र कुमार जोशीले नेतृत्व गर्ने भएका छन् ।
जोशी समाज काठमाडौं जिल्लाको शनिवार कीर्तिपुरमा सम्पन्न साधारण सभा साथै आठौं अधिवेशनले बीरेन्द्र कुमारलाई समितिको नयाँ अध्यक्ष चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित ११ सदस्यीय नयाँ कार्य समितिमा प्रथम उपाध्यक्षमा बिन्दु प्रकाश जोशी र उपाध्यक्ष पदमा सनम श्रेष्ठ जोशी चयन भएका छन् । सचिवको जिम्मेवारी शरद मङ्गल जोशीलाई दिइएको छ भने सह सचिव पदमा एलिना प्रधान जोशी चुनिए ।
त्यस्तै कोषाध्यक्षमा बिष्णु मान जोशी र सह कोषाध्यक्षमा रमेश कुमार जोशी पनि सर्वसम्मत निर्वाचित भए । कार्य समितिको चार जना सदस्यमा ध्रुव मान जोशी, शर्मिला राजभण्डारी जोशी, कबिन्द्र जोशी र शुभेन्द्र लाल जोशी चुनिएका छन् ।
यस अघि अधिवेशनको उद्घाटन सत्रमा बोल्दै समाजका केन्द्रीय अध्यक्ष ज्ञानेशमान जोशीले जोशीहरुले आफ्नो जात, समुदायप्रति गर्व गर्नुपर्ने बताए । राजोपाध्याय देवब्राह्मण, कर्माचार्य र जोशीहरु त्रिदेव झैं भएर नेवाः संस्कार, संस्कृतिको संरक्षण, सम्वर्ध्दनमा लागिरहेको जोशीको दावी हो ।
नेवाः संस्कार संस्कृति सम्पन्न गर्न शुभ साइत हेरिदिने काम गर्दै आएका जोशीहरुले नेवाः संस्कृतिको संरक्षण, सम्वद्र्धनमा महत्त्वपूर्ण योगदान दिँदै आएको जोशीको भनाई हो ।
वर्षेनी तिहार पर्वमा तिथिको विवाद देखिरहेको अवस्थामा सबैले जोशीबाटै समस्याको समाधान आउने आशा गरिरहेको जोशीले भने ।
‘तिथिको विवाद देखिँदा सबैले जोशीहरुलाई नै सोध्ने गर्छन् । यस्तो अवस्थामा हामीले वर्षेनी देखिँदै आएको तिथि विवादमा समाधान दिन नसकिएको देखियो । हाम्रो प्राचीन परम्परा, संस्कृतिको स्मरण गरेर अघि बढ्ने हो भने केही समस्या आउँदैन’ जोशीको भनाई हो ।
कार्यक्रममा समाज काठमाडौं जिल्ला समितिका साविक अध्यक्ष कमल बहादुर जोशी, केन्द्रीय महासचिव कुशेश्वर प्रसाद जोशी, केन्द्रीय प्रथम उपाध्यक्ष विन्दु प्रकाश जोशी लगायतले समस्य जोशी संगठित भई सामूहिक हितमा अघि बढ्नुपर्नेमा जोड दिँदै आआफ्ना विचार राखे ।
अधिवेशनले समितिका सचिव सनम जोशीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णुमान जोशीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
यसै कार्यक्रममा विभिन्न बिधामा संयोजक भई कार्य सम्पादन गरेका कार्य समिति सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै १५०औं पटक रक्तदान गरेका बिरेन्द्र कुमार जोशीलाई बिशेष सम्मान गरिएको थियो ।





