arin enterprises

मनास्लु हिमालमा हिमपहिरो, सतर्क रहन अपिल

SamacharDesk | २०८१ बैशाख ९, आइतबार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ ।

सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।

नदीमा आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिनुभयो ।

स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको छ । ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिमपहिरो खस्दा स्थानीय खहरेमा ठूलो बाढी आएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सतर्क रहन सबैलाई आग्रह गरिएको छ ।

वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।

Categorized in राष्ट्रिय