अब जन्मदर्ता प्रमाणपत्र राष्ट्रिय परिचय नम्बर सहित जारि हुने
SamacharDesk | २०८० चैत्र २, शुक्रबार

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अबदेखि राष्ट्रिय परिचय नम्बर सहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने भएको छ । विभागले एक पत्र जारी गर्दै नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने निर्णय गरेको हो ।
“ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ६ को उपदफा (३) मा नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्दाको बखत स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएको बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नुपर्ने व्यवस्था भएबमोजिम यस विभागको २०८० फागुन २७ को निर्णयानुसार नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्न देहायअनुसार गर्नु गराउनुहुन अनुरोध छ,” विभागले जारि गरेको पत्रमा उल्लेख गरिएको छ ।
विभागले यस विषयमा अनलाइन घटना दर्ता प्रणाली संचालन गर्ने सबै स्थानीय तह तथा नेपाली कुटनीतिक नियोगलाई पत्राचार गरेको छ ।
१६ वर्षभन्दा कम उमेरका सन्तानको जन्मदर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपि जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधन तथा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउने विभागको भनाई छ ।
यस्तै केहि कारणले जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त नभए विभागमै सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर प्राप्त भएपश्चात् मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न अनुरोध गरिएको छ ।
