arin enterprises

नौ दिन आठ रातसम्म मनाइने बिस्काः जात्रा सुरु

SamacharDesk – राम डंगोल | २०७९ चैत्र २७, सोमबार

भक्तपुरवासीले प्रत्येक नयाँवर्षमा नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आजबाट सुरु भएको छ ।

विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक विधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग मर्यो), बीय जात्रा (नागको जात्रा), बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भई बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हुन गएको बताइन्छ ।

हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्वङ्गा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुने परम्परा रहेको छ ।

नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको योसिं उठाइने र वैशाख १ गते दिनभर योसिंखेलमा योसिं जात्रा मनाएर साँझ योसिं ढालेर जात्रा मनाइन्छ ।

यसरी ल्योसिं ठड्याउनुअघि ल्योसिंको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त ल्योसिं ठड्याइने प्रचलन रहेको छ ।

भक्तपुरको प्रसिद्ध विस्केट जात्राको ल्योसिं हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविदहरू बताउन्छन् ।

जात्राको मुख्य आकर्षण भनेकै रथजात्रा र योसिं जात्रा हो । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पुर्‍याइ जात्रा सम्पन्न गरिन्छ।

रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ। जात्राको दोस्रो दिन शून्य भनिन्छ। तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ।

उक्त बलिपूजाको मासु प्रसादका रूपमा ‘लाकुला छेवासी’लाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ।

बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा यसीं उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक ल्योसिङख्योमा ५५ हात लामो यसीं उभ्याइन्छ। बैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते यसीं ढालिन्छ।

यसीं ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ। ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पुर्‍याइ एकाआपसमा जुधाइन्छ। जसलाई स्थानीय भाषामा खःल्वाकिगु जात्रा भनिन्छ। यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ। जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई टौमढीस्थित भैरवनाथको प्राङ्गणमा पुर्‍याई ।

त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर देउतालाई भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा रहेको छ ।

Categorized in संस्कृति