arin enterprises

भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्रा चैत्र २७ देखि

SamacharDesk – राम डंगोल | २०८० चैत्र २१, बुधबार

हरेक वर्ष मनाउँदै आएको भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्रा आगामी बुधबार चैत्र २७ गतेदेखि सुरु हुने भएको छ ।

प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीहरुले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार जात्रा मनाउने गर्दछ ।  नयाँ वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ ।

हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्वङ्गा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुने परम्परा रहेको छ ।

यो वर्ष चैत्र २६ गते खड्ग भित्र्याउने जनाइएको छ । साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने प्रचलन छ ।

जात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको जात्रा व्यवस्थापन समिलिते जनाएको छ । भक्तपुर गुठी संस्थानका प्रमुख खिमा वलीका अनुसार  टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा एक महिना अगाडिदेखि प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको र भैरबको रथको पनि छाना राख्ने काम सुरु भएको बताए ।

उनले आजैबाट भद्रकालीको रथ निर्माण पनि सुरु भएको जानकारी दिँदै अहिलेसम्म भैरब रथ निर्माणका क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुरा मर्मत गर्ने, चुकुल फेर्ने, बुट्टा बनाउने कार्य भइरहेको बताए ।

आगामी चैत २६ गतेसम्म रथमा रङगरोगन एवं सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर रथ तान्न सुरु गरिने उनले जानकारी दिए । 

विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक विधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग मर्यो), बीय जात्रा (नागको जात्रा), बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भई बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हुन गएको बताइन्छ ।

तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ । 

जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पुर्याइ जात्रा सम्पन्न गरिन्छ।

Categorized in संस्कृति