arin enterprises

बोर्डबाट कोरियाली बजारमा नेपालका पर्यटकीय गन्तव्यहरुको प्रस्तुती

SamacharDesk – बिराज | २०८३ जेठ २५, सोमबार

काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रबर्ध्दन गरिएको छ ।

सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ–२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको नेपाली पर्यटन व्यवसायीको ७ वटा टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रबर्ध्दन गरेको हो ।

उक्त चार दिने अन्तर्राष्ट्रिय पर्यटन मेलाका क्रममा कोरिया आउटबाउन्ड टुरिजम् एसोसिएसन (कोओएफटीए) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत शिन जुंग मोक नेतृत्वको उच्चस्तरीय टोलीले नेपाल प्याभिलियनको अवलोकन गरेको थियो ।

त्यस्तै, दक्षिण कोरियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले दूतावास टोलीसहित प्याभिलियनको भ्रमण गरी आगन्तुक तथा सहभागी पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रमको क्रममा चर्चित कोरियाली कलाकार ह्वाङ मानसोकले आफ्नो प्रसिद्ध ‘गंगनम स्टाइल’ मूर्तिको तस्वीर नेपाल पर्यटन बोर्डलाई उपहारस्वरूप प्रदान गरेका थिए ।

करिब ४५ हजार दर्शक तथा आगन्तुक सहभागी रहेको मेलामा नेपाल प्याभिलियनप्रति कोरियाली पर्यटन व्यवसायी र सर्वसाधारणको उल्लेखनीय चासो देखिएको थियो ।

विशेषगरी पदयात्रा (ट्रेकिङ), नेपाल भ्रमणका लागि भिसा प्रक्रिया तथा हवाई सम्पर्कका विषयमा मेलामा सहभागी पर्यटन व्यवसायीहरुले जानकारी लिएका थिए ।

यसैबीच, नेपाल पर्यटन बोर्डले जुन ४ देखि ६ सम्म सिओल र सुवनमा आयोजित वल्र्ड टुरिज्म इन्डस्ट्री कन्फरेन्स (डब्ल्यूटीआईसी) २०२६ मा पनि सहभागिता जनाएको थियो ।

सम्मेलनमा विश्वभरका पर्यटन नेतृत्वकर्ता तथा गन्तव्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बोर्डका निमित्त निर्देशक सुनील शर्माले विश्वव्यापी पर्यटन प्रवृत्ति तथा त्यसको नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभावबारे प्रस्तुति दिएका थिए ।

सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर–२०२६ कोरियासहित विश्व पर्यटन बजारका पछिल्ला प्रवृत्ति, नवीन पर्यटन उत्पादन तथा गन्तव्यहरूको प्रवद्र्धनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित छ ।

मेलामा विभिन्न अनुभव आदानप्रदान कार्यक्रम, पर्यटन प्रदर्शनी तथा विशेष यात्रा प्याकेजहरू प्रस्तुत गरिएका थिए ।

वार्षिक करिब तीन करोड नागरिक विदेश भ्रमणमा जाने गरेको दक्षिण कोरिया एसियाको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एक हो । सन् २०२५ मा मात्रै २३ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोरियाली पर्यटकहरू विशेषगरी पदयात्रा, पर्वतारोहण तथा नेपालको बौद्ध सम्पदाप्रति आकर्षित हुने गरेका छन् ।

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक अर्चना केसी राणा तथा वरिष्ठ अधिकृत सुशीला कुमारी बरालले एसआईटीएफ २०२६ नेपालको सहभागिता समन्वय गर्दै आयोजक, नेपाली प्रतिनिधिमण्डल तथा आगन्तुकहरूसँग सहकार्य गरेका थिए ।

Categorized in बिजनेस