arin enterprises

नामसंगीति वाचन गुरु चित्रवीरको भीमरथारोहणमा पुस्तकको लोकार्पण

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ ७, आइतबार

संचारकर्मी सुरजबीर बज्राचार्यका पिता नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यको ज्याःजंकु अर्थात भीमरथारोहणको अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथा (नेपालभाषा अनुवादसहित) तथा धर्मश्री भित्रको कथा” पुस्तक प्रकाशन गरिएको छ ।

पुस्तकमा पण्डित बद्रीरत्न बज्राचार्यको स्वयम्भू पुराणको षष्टम अध्यायमा रहेको धर्मश्री मित्रको कथा, बौद्ध अध्येता मीनबहादुर शाक्यद्वारा सम्पादित नामसंगीति नेपालभाषा अनुवाद षटचक्र अनुशंसा र गुरु बज्राचार्यको संक्षिप्त जीवनी समावेश गरिएको छ ।

ललितपुरमा आयोजित कार्यक्रममा गुरु बज्राचार्यका पाँच सय भन्दा बढी शिष्यहरुसाथ नामसंगीति पाठ गरिएको थियो ।

सोही कार्यक्रममा बज्राचार्यका गुरु एवं नेपाल परम्परागत बौद्धधर्म संघका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यलाई गुरुपूजा गरी अभिनन्दन–पत्र अर्पण गर्दै सम्मान गरिएको थियो ।

बौद्ध अध्येताहरुका अनुसार ११ औं शताब्दीदेखि काठमाडौं उपत्यकामा प्रचलित आर्यनामसंगीति वाचन परम्परा एउटा अमूर्त संस्कृतिको रुपमा रहेको छ ।

हरेक महिनाको प्रतिपदा, अष्टमी, पूर्णिमा, औंशी, गुंला लगायतका अवसरमा विशेषरुपमा पाठ गरिने नामसंगीति प्रत्येक विहारमा दिनहुँ पाठ गर्ने प्रचलन रहेको छ । यस परम्परामा समर्पितलाई सहजताका लागि पुस्तक प्रकाशन गरिएको बज्राचार्यका जेष्ठ सुपुत्र एवं वरिष्ठ सञ्चारकर्मी सुरजवीरले जानकारी दिए ।

बज्रपाणी बोधिसत्वले चैत्र पूर्णिमाका दिन धान्यकटक महाचैत्यमा बसेर नामसंगीतिबारे देशना गर्नुभएको बज्रायानी बौद्धग्रन्थमा उल्लेख गरिएको छ ।

नेवार समाजमा मानिस ७७ वर्ष ७ महिना, ७ दिन ७ घडि र ७ पलाको उमेर हुँदा पहिलो ज्याःजंक्व भीमरथारोहण गर्ने परम्परा छ । त्यस्तै हजार पुर्णिमाको चन्द्रमा दर्शन पछि दोश्रो जंक्व चन्द्ररथारोहण, ८८ वर्ष ८ महिना, ८ दिन, ८ घडि र ८ पलामा तेश्रो जंक्व देवरथारोहण गर्ने गरिन्छ ।

गुरु बज्राचार्य र उहाँकी पत्नी ज्ञानीदेवी बज्राचार्यको गत पुस २८ गते पहिलो जंक्व भीमरथारोहण गरिएको थियो । पाटनस्थित हिरण्यवर्ण महाविहार क्वाःबहाः (गोल्डेन टेम्पल) का वीशस्थविर आजुसमेत रहेका बज्राचार्य ४ दशक अघिदेखि नामसंगीति वाचन परम्परामा सक्रिय रहँदै आएका छन् ।

पुस्तकको प्रकाशन बज्राचार्यका सुपुत्रहरु सुरजवीर, संजिववीर, सुदिजवीर तथा पुत्रवधुहरु रमा र रिजु बज्राचार्यले गरेका हुन् भने खेमराज शाक्यले सम्पादन गरेका हुन् ।

Categorized in पेजथ्री